गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् । गण्डकीका समग्र समस्याबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
खासगरी गाँजा खेती र घरेलु मदिरालाई खुला गर्नुपर्ने माग पाण्डेले अघि सारे । ‘हाम्रो आफ्नै मौलिक प्रविधिबाट बन्ने स्थानीय मदिरालाई कानुनी रूपमा ब्रान्डिङ र व्यावसायिक रूपमा उत्पादन गर्न सके यसले प्रदेशको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउनेछ । तर, संघ सरकारले केही बाटो खुकुलो बनाइदिनुपर्छ,’ पाण्डेले भने, ‘मैले राखेको प्रस्तावमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ र तत्काल आवश्यक कानुनी सहजीकरणका लागि प्रतिबद्धता जनाउनुभएको छ ।’घरेलु मदिराको अन्तः शुल्क र उद्योग दर्ताका विषयमा संघ सरकारले सहजीकरण गरिदिनुपर्ने पाण्डेले बताए । प्रदेश सरकारले घरेलु मदिराको ऐन र नियमावली जारी गरिसकेको छ । अब कार्यविधि बनेपछि कार्यान्वयनमा जान्छ ।यस्तै, गाँजा खेतीलाई औषधीय र औद्योगिक प्रयोजनका लागि खुला गर्ने विषयमा पनि छलफल भएको थियो । गाँजा खेती खुला गर्दा हुन सक्ने सम्भावित दुरुपयोगलाई नियन्त्रणमा प्रधानमन्त्रीले बढी चासो देखाएका छन् । प्रदेश सरकारले गाँजा खेतीको पनि ऐन जारी गरिसकेको छ । यसबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेर सहजीकरणका लागि आग्रह गरेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।‘घरेलु मदिराको अवरोध तत्कालै हटाउने प्रतिबद्धता उहाँले जनाउनुभयो । गाँजा खेतीमा पनि सकारात्मक हुनुहुन्छ,’ पाण्डे भन्छन्, ‘गाँजा र स्थानीय मदिरालाई नियमन गरी व्यावसायिक बनाउन सके स्थानीयस्तरमा रोजगारी सिर्जना हुने कुरामा उहाँ पनि कन्भिन्स हुनुभएको छ ।’






