काठमाडौँ । सर्पले टोकेर पछिल्लो चार महिनामा ६६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वैशाखदेखि हालसम्म देशभर ६६ जनाको मृत्यु भएको हो । यस्तै, यो अवधिमा नौ सय ५६ जनालाई सर्पले टोकेको छ ।
सर्पले टोकेका प्रत्येक एक सय जनामध्ये १० देखि १२ जनामा मात्रै विषको असर वा लक्षण देखिने गर्छ । यसरी विषको लक्षण पुष्टि भएका बिरामीलाई भने तत्कालै एन्टिभेनम (विष निरोधक खोप) दिई उपचार गर्नुपर्छ ।स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन सात वटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिएको छ । यसैगरी रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिनसमेत केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको थियो ।






