इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देश अहिले ‘पूर्ण युद्ध’को अवस्थामा रहेको बताएका छन् । अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेला उनले देशको आर्थिक अवस्था निकै कठिन रहेको समेत स्वीकार गरेका हुन् ।
‘यी समस्या उत्पन्न भएकामा हामी क्षमाप्रार्थी छौँ । हामी पूर्णस्तरको आर्थिक, सैन्य र सुरक्षा युद्धमा फसेका छौँ,’ पेजेस्कियानलाई उद्धृत गर्दै इरानी सरकारी समाचार संस्था इरनाले आइतबार भनेको छ ।‘सरकारका रूपमा हामी आफ्नो सम्पूर्ण क्षमताका साथ महँगी, सार्वजनिक समस्या, जनताको जीविका, रोजगारी, भविष्य र जीवनलाई सम्मान र गौरवको दिशामा लैजान प्रयास गरिरहेका छौँ,’ अझ अगाडि उनले भनेका छन् ।वर्षौँदेखिको अमेरिकी प्रतिबन्धका कारण कमजोर बनेको इरान अहिले युद्धको दबाबसँग पनि जुधिरहेको छ । यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अर्थतन्त्रलाई थप दबाबमा पार्ने चेतावनी दिएका छन् । इरानको अर्थतन्त्रलाई धराशयी बनाउन ट्रम्पले इरानसँग कारोबार गर्ने वा उसलाई कुनै पनि आर्थिक सहायता दिने देशलाई गम्भीर आर्थिक परिणाम भोग्ने चेतावनी दिएका थिए । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि यसअघि तेहरानविरुद्ध “यसअघि कहिल्यै नदेखिएका” आर्थिक कदम चाल्ने प्रतिबद्धता जनाएका थिए ।






