काठमाडौँ । रसुवा जिल्लामा आएको आकस्मिक बाढीले जलविद्युत क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण रसुवास्थित प्रमुख जलविद्युत आयोजनाहरू र प्रसारण लाइनमा गम्भीर क्षति पुगेको र विद्युत् आपूर्ति अवरुद्ध भएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार बाढीले रसुवामा रहेका देहायका उत्पादन, प्रसारण र वितरण संरचनामा ठुलो भौतिक क्षति पुर्‍याएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजना, चिलिमे जलविद्युत केन्द्र, त्रिशूली ३ ए र त्रिशूली ३ बी हब २२० के.भी.सबस्टेशन र त्रिशूली र देवीघाट जलविद्युत केन्द्रमा ठुलो क्षति पुगेको अनुमान प्राधिकरणले गरेको छ ।

विद्युत् आयोजना र प्रसारण लाइनका संरचनाहरू क्षतिग्रस्त भएसँगै ती क्षेत्रबाट हुने विद्युत् उत्पादन र प्रसारण पूर्ण रूपमा ठप्प भएको छ । प्राधिकरणले बाढीका कारण घर, सडक, पुल र अन्य भौतिक पूर्वाधारका साथै विद्युतका संरचनामा अपूरणीय क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ ।

प्राधिकरणले बाढीमा परी बेपत्ता भएका र प्रभावित भएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणको खोजी, उद्धार र राहतका लागि सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन अनुरोध गरेको छ ।

बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै प्राधिकरणले नदी तथा खोला आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका कर्मचारी र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ । आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार र अफवाहको पछाडि नलाग्न समेत सबैमा अनुरोध गरिएको छ ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । प्राधिकरणले अवरुद्ध विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको प्रतिबद्धता व्यक्त गर्दै, मर्मत र पुनर्स्थापना नहुञ्जेलसम्म धैर्य गरिदिन ग्राहकहरूमा आग्रह गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय