बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभा बैठक नै स्थगित गर्न औपचारिक माग गरेको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले सोमबार उपसभामुख अप्सरा चापागाईंलाई पत्र बुझाउँदै मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेकाले विश्वासको मतसम्बन्धी छलफल अघि बढाउन नहुने जिकिर गरेका हुन्।महर्जनले बुझाएको पत्रमा उच्च अदालत पाटन, हेटौँडा इजलासमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक कुमारी तामाङलगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ भई अदालतले आगामी भदौ १० गते अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेसी तोकेको उल्लेख गरिएको छ।उनले अदालतमा विचाराधीन रहेको विषयमा प्रदेशसभाले छलफल गर्नु नेपालको संविधान विपरीत हुने दाबी गरेकाे पत्रमा नेपालको संविधानको धारा १९१ उद्धृत गर्दै भनिएको छ, ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेका न्यायिक कार्यको सम्बन्धमा प्रदेश सभामा कुनै छलफल गरिने छैन।’यसै संवैधानिक व्यवस्थालाई आधार बनाउँदै कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मतसँग सम्बन्धित विषय अदालतमा विचाराधीन रहेकाले त्यससम्बन्धी छलफल अघि बढाउन नमिल्ने जिकिर गरेको हो।
प्रमुख सचेतक महर्जनले अदालतबाट अर्को निर्णय नआएसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका छन्। उनले विश्वासको मतको प्रक्रिया अहिले अघि बढाउँदा न्यायिक प्रक्रियामै प्रतिकूल असर पर्न सक्ने भएकाले सम्मानित अदालतको निर्णय नआउञ्जेल बैठक नराख्नुपर्ने बताएका छन्।
उनले उपसभामुखसमक्ष बुझाएको निवेदनमा अदालतमा विचाराधीन रहेको मुद्दासँग प्रत्यक्ष सम्बन्धित विषयमा छलफल गर्नु असंवैधानिक हुने दाबी गर्दै तत्कालका लागि प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेका छन् ।






