रसुवाको भोटेकोशीमा बाढी आएपछि गोरखा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना बेपत्ता भएको समाचार बुधबार नै फैलिएको थियो ।

यता, अपर मादी जलविद्युत आयोजनामा काम गर्ने पोखरा–५ की पूजा बास्तोला पनि हराइरहेको भन्दै परिवारले गुहार मागिरहेको छ ।

रसुवामै अर्का इन्जिनियर सन्तोष अधिकारी पनि सम्पर्कबाहिर रहेको परिवारले जनाएको छ । कास्कीबाट गुसाइँकुण्ड गएका बिनु गुरुङ र देवकुमारी गुरुङ पनि परिवारको सम्पर्कमा नआएको जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता कृष्णप्रसाद कोइराला भने सामाजिक सञ्जालमा हराइरहेको भन्दै पोस्ट आइरहेको तर औपचारिक रूपमा प्रहरीलाई जानकारी नगराइएको बताउँछन् । गण्डकीका ११ वटै जिल्लामा सामाजिक सञ्जाल वा त्यस्ता सूचना छन् भने तुरुन्त खबर गर्न निर्देशन दिएको उनले बताए ।

गण्डकी प्रदेशका कति जना रसुवा बाढीमा हराएका छन् र बाढीले कति क्षति पुर्‍याएको छ भन्ने चासो बढिरहेको छ ।

यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रारम्भिक अवस्थाबारे प्रदेशसभा बैठकमा जानकारी गराएका छन् ।

मुख्यमन्त्री पाण्डेले रसुवा बाढीमा संघीय सरकारले प्रारम्भिक रूपमा बताएअनुसार ५ हजारजति मानिस हराइरहेको जानकारी गराए । २०७२ सालको भूकम्पपछि ठूलो विपत्तिको सामना देशले अहिले गर्नुपरेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले गोरखाको पालुङटारबाट एउटा बस र दुई वटा माइक्रोमा गुसाइँकुण्ड गएको जानकारी पाएको बताए । पृथ्वी राजमार्गको एउटा बसमा ३७ जना रहेको र तीमध्ये ६ जना हाम फालेर बाँचेकाहरू सम्पर्कमा रहेको सुनाए ।

बाँकी ३१ जना बेपत्ता रहेको र उनीहरूको खोजी, उद्धारका लागि संघीय सरकार, प्रहरी र स्थानीय पालिकासँग समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

अरू दुई वटा माइक्रोबसमा पालुङटारबाटै गोसाइँकुण्ड गएको र उनीहरू भने सम्पर्कमा रहेको उनले बताए । एउटा माइक्रोमा १५ जना र अर्कोमा १६ रहेको मुख्यमन्त्री पाण्डेले संसद्‌मा जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले गण्डकीमा उपचाररत कोही छन् भने उपचार गर्ने र अन्य ठाउँमा लैजान पनि समन्वय तथा सहकार्य गर्ने सदनलाई बताए ।

रसुवा र नुवाकोटमा गण्डकीबाट काम गर्न जाने थुप्रै बेपत्ता भएको प्रारम्भिक सूचनाहरू आइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

बागलुङ, पर्वत, म्याग्दीका परिवारले प्रहरीमा सूचना दिने क्रम बढ्दो अवस्थामा रहेको उनको भनाइ थियो । यो बाढीका कारण गण्डकी प्रदेशमा पनि क्षतिको संख्या बढ्न सक्ने अवस्था रहेको उनले बताए ।

यसैगरी, मुख्यमन्त्री पाण्डेले घान्द्रुक जाने सडक मोदी खोलाको बाढीका कारण क्षतविक्षत भएको र बाटो खुलाउन भइरहेको प्रयत्नबारे पनि संसद्‌लाई जानकारी गराएका छन् ।

वीरेठाँटीमा मोदी खोला बाटो कटान गरेपछि अस्थायी रूपमा भए पनि खोल्न केही निर्णय गरेर काम अगाडि बढिरहेको उनको भनाइ थियो ।

प्रदेश सरकारबाट तारजाली उपलब्ध गराउने, ढुंगाहरू स्थानीय तहले उपलब्ध गराउने र नेपाली सेनाले भर्ने निर्णयअनुसार काम भइरहेको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय