काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार शनिवार बिहान साढे १० बजेसम्म देशका विभिन्न जिल्लाबाट ६ सय २६ जनाको शव फेला परेको हो।सबैभन्दा धेरै चितवनमा २ सय ३३ वटा शव फेला परेको छ। यस्तै नवलपरासी पूर्व (नवलपुर) मा १ सय ५८, नवलपरासी पश्चिममा ४७, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।अस्पतालमा रहेका शवगृहहरूको क्षमताभन्दा बढी शव भेटिएको र पहिचान हुन नसकेका कारण शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। यद्यपि विभिन्न अस्पतालहरूको सहयोगमा व्यवस्थापनको काम जारी छ।

रसुवामा फेला परेका शव धुन्चेमा तथा धादिङ र नुवाकोटका शव काठमाडौँको शिक्षण अस्पताल लगायतमा राखिएका छन्। चितवनमा भेटिएका शव भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा राखिएको छ।

गोरखा र तनहुँका शव पोखराका मणिपाल तथा गण्डकी अस्पतालमा पठाइएको छ। नवलपरासी पूर्व र पश्चिमका शवहरू पृथ्वीचन्द्र, लुम्बिनी प्रादेशिक, भीम, पिपरा, मध्यविन्दु र गैँडाकोट लगायतका अस्पतालमा राखिएका छन्।

‘हामीलाई यो डेड बडी म्यानेजमेन्टको अलिकति समस्या छ,’ प्रवक्ता महतले भनिन्, ‘देशभरिका अस्पतालको क्यापासिटीभन्दा शवको संख्या अलि धेरै देखिएको छ। स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायहरूले यसका लागि काम गरिरहेका छन्।’

शवबाट महामारी फैलिन नदिन ४ सय थान शव ब्याग प्रभावित क्षेत्रमा पठाइएको र थप पठाउने क्रम जारी रहेको छ।

  • २ हजार ४२६ जना अझै बेपत्ता

बाढीका कारण २ हजार ४२६ जना अझै सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्ययन कार्यालयका ४ जना कर्मचारी छन्।

यस्तै रसुवा डीओसीबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, जलविद्युत् आयोजनाहरूबाट ९ सय ३३ र मकवानपुर डीओसीबाट ६५ जना बेपत्ता भएका हुन्। ५ सय १७ जना विदेशी नागरिक, विदेशमा बस्ने १ सय २७ नेपाली र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन छन्।

प्रभावित क्षेत्रबाट हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। जलविद्युत् आयोजनाको सुरुङबाट शुक्रवार १९१ जनाको उद्धार गरिएको थियो। उद्धार तथा राहत कार्यका लागि १५ हजार २२४ सुरक्षाकर्मी तथा १६ वटा हेलिकप्टर परिचालन गरिएका छन्।

राहतका लागि प्रभावित जिल्लाहरूमा ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। सरकारले संकटग्रस्त घोषणा गरेका १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिसकेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय