बिना बिलबिजक ठुलो मात्रामा मदिरा लिएर जाँदै गरेको ४ जना भारतीय कार सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कर्मैया पोस्टमा शनिबार राति बारा जिल्लाबाट सर्लाहीको मलंगवा तर्फ जाँदै गर्दा चेकजांचको क्रममा कारको पछाडिको सिटमुनि र अगाडी फल्स बटन बनाई लुकाइछिपाई बिना बिलबिजक लिएर जाँदै गरेको अवस्थामा १३ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको मदिरा सहित ४ युवकलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूको साथबाट रेडलेभल ५० बोटल, रोयल स्टेग २४ बोटल, म्याकडोवल ठुलो ३५ र सानो ३९ बोटल बरामद भएको छ ।
सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी बेद प्रसाद गौतमका अनुसार पक्राउ पर्नेमा कार चालक भारत जिल्ला सीतामढी हरनैंया पञ्चायत वडा नम्बर ३ का ३३ वर्षीय दीपक कुमार, बेतिया जिल्ला हतिया पञ्चायत वडा नम्बर ८ निवासी ३६ वर्षीय अल्बु यादव, सोही जिल्ला लैरिया पञ्चायत वडा नम्बर ६ निवासी ३० वर्षीय कृष्णा भगत र सोही स्थान वडा नम्बर ४ बस्ने २० वर्षीय आलोक कुमार रहेका छन् ।
पक्राउ परेका चार जनालाई कार सहित थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।







