काठमाडौं – पब्लिक युथ क्याम्पसमा BTTM (Bachelor of Travel and Tourism Management) कार्यक्रमका लागि तोकिएको भर्ना शुल्क रु ३६,००० भए पनि, केही विद्यार्थीहरूलाई मात्र रु १,५०० देखि ५,००० को अत्यन्त न्यून शुल्कमा भर्ना गरिएको खुलासा भएको छ। यो अनियमितताले १०० भन्दा बढी विद्यार्थीलाई प्रभावित पारेको छ, जसले क्याम्पस प्रशासनको निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

अर्कोतर्फ, आर्थिक कारणले १०० विद्यार्थी भर्ना हुनै नसकेको अवस्थामा, सीमित विद्यार्थीहरूलाई मात्रै यस्तो छुट दिनु चुनावी स्वार्थसहितको योजना भएको आशंका गरिएको छ।

स्ववियू चुनाव प्रभावित पार्ने रणनीति?

स्ववियू निर्वाचन नजिकिँदै गर्दा यस्तो भर्ना अनियमितता संयोग मात्र नभई नियोजित रणनीति हुनसक्ने धेरैको ठहर छ। तोकिएको शुल्कभन्दा निकै कममा भर्ना दिनु क्याम्पस प्रशासनको लापरबाही हो वा कसैको दबाबमा गरिएको रणनीति हो भन्ने प्रश्न उठेको छ।

विद्यार्थीहरूमध्ये धेरैले यो कदम स्ववियू चुनावमा निश्चित समूहको प्रभाव बढाउन र भोट बैंक तयार गर्न गरिएको हुनसक्ने बताएका छन्। “यदि सबैलाई नै यो छुट दिइन्थ्यो भने कुरा अर्कै हुन्थ्यो, तर स्ववियू चुनावको पूर्वसन्ध्यामा सीमित व्यक्तिलाई मात्र यस्तो सुविधा दिनु गम्भीर विषय हो,” एक विद्यार्थीले बताए।

निष्पक्ष छानबिनको माग

यस घटनाप्रति विद्यार्थीहरू, अभिभावकहरू, र अन्य सरोकारवालाहरूले गम्भीर आपत्ति जनाएका छन्। यदि भर्ना शुल्क सम्बन्धी निर्णय कुनै राजनीतिक स्वार्थका कारण गरिएको पुष्टि भए, जिम्मेवार पक्षलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ।

शैक्षिक संस्थाको पारदर्शिता, निष्पक्षता, र विश्वसनीयता जोगाउन सम्बन्धित निकायहरूले तत्काल छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने देखिन्छ। अन्यथा, यस्तो अनियमितताले भोलिका दिनमा शैक्षिक वातावरणमा नै गम्भीर असर पार्नेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय