
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने प्रस्ताव बहुमतले पारित गरेको छ ।
आईतवार सिंहदरबारमा बैठकमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा उक्त व्यवस्थासहित विधेयकको दफा २१ लाई बहुमतले पारित गरेको हो । विधेयकमा विश्वविद्यालयको सभाको सभाध्यक्ष सहकुलपतिको रुपमा शिक्षामन्त्रीले गर्ने प्रस्ताव गरिएको छ । बैठकले विश्वविद्यालयको उपकुलपतिसहितका पदाधिकारीको नियुक्ति भने खुला प्रतिष्पर्धाबाट गर्ने सहमति गरेको छ ।
प्रतिपक्षी दलका सांसदहरुले विश्वविद्यालयको कुलपति समेत खुला प्रतिष्पर्धाको माध्यमबाट प्राज्ञिक व्यक्तिलाई राख्नुपर्ने धारणा राखेका थिए । एक जना प्रधानमन्त्रीले मात्र धेरै विश्वविद्यालयहरु हेर्न नसक्ने उनीहरुको तर्क थियो । तर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलले प्रधानमन्त्रीलाई नै कुलपति बनाउने विषयमा मन्त्रालयको मस्यौदा र राष्ट्रिय सभाको म्याण्डेडलाई अपनत्व गर्नुपर्ने बताउनु भयो । कुलपतिमा प्रधानमन्त्रीलाई नै निरन्तरता दिने कुरामा सर्वसहमति गर्न आग्रह गरिन् ।
प्रमुख प्रतिपक्षी दलका सांसद देवेन्द्र पौडेलले दलीय प्रणालीमा स्थिर सरकार हुन नसक्ने भन्दै प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउनुपर्ने धारणा राखेका थिए । भारतको केरलाको उदाहरण दिँदै कुलपति प्रधानमन्त्री नभए पनि विश्वविद्यालयहरुलाई राम्रोसँग संचालन गर्न सकिने उनको भनाई छ ।
नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले उपकुलपति सहितका पदाधिकारीहरुको नियुक्ति वैज्ञानिक प्रतिष्पर्धाका आधारमा गरिनुपर्ने बताएका थिए । भण्डारीले लोकसेवाको आफ्नै पाठ्यक्रम र परिक्षा प्रणाली भएकोले विश्वविद्यालयको पदाधिकारी नियुक्त त्यसरि गर्न नहुने धारणा राखेका थिए ।
शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो । सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।