काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो ।

यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण, गोष्ठी, तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।

‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाइ अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ। अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरुलाई आग्रह गर्दछौ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले भनेको छ ।

२०८१ साल चैत्र ०७ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा मा देशभरबाट नियमित तर्फ ४३१४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार ल‍ाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश भएका छन्।

शिक्षकहरू २० चैतदेखि काठमाडौमा सडक आन्दोलनमा आएका छन् । आन्दोलनका कारण भर्ना अभियानसमेत प्रभावित भएको छ । कतिपय विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय