काठमाडौं । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३ स्थित जयगढ बजारमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको छ । आगलागीका कारण स्थानीय व्यापारी तथा बासिन्दाहरू ठूलो क्षतिको चपेटामा परेका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार मंगलबार साँझ करिब साढे ७ बजेतिर एक पसलमा ग्यास लिक भएर विस्फोट भएको हो । विस्फोटपछि तुरुन्तै आगो फैलिँदा आसपासका अन्य घर र पसलहरूमा समेत क्षति पुगेको जनाइएको छ ।
स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहकार्यमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । तर आगो निकै ठूलो र तीव्र भएकोले नियन्त्रणमा ल्याउन कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जय पार्कीले एभिन्यूज खबरलाई जानकारी दिए । अहिले मंगलसेन नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनी बताउँछन् ।
आगलागीबाट कति धनमाल नष्ट भयो भन्ने यकिन विवरण आउन बाँकी भए पनि प्रारम्भिक अनुमान अनुसार लाखौँ रुपैयाँ बराबरको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ । अहिलेसम्म ११्१२ वटा घरहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् भने केही पसलहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
हालसम्मको जानकारी अनुसार मानवीय क्षति भने भएको छैन । विस्फोटको समयमा घरभित्र रहेका व्यक्तिहरू भागेर ज्यान जोगाउन सफल भएको प्रहरी स्रोतले जनाएको छ ।






