
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भनी सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले यही २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने परीक्षा तोकिएकै मितिमा नियमित रूपमा हुने स्पष्ट पारेको छ । परीक्षा स्थगन सम्बन्धी कुनै पनि आधिकारिक सूचना बोर्डको आधिकारिक वेबसाइटमार्फत मात्र सार्वजनिक हुने जनाएको छ । अन्य अनौपचारिक स्रोतबाट आउने सूचनामा विश्वास नगर्न बोर्डले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
बोर्डले आफ्नै लेटरप्याड र अध्यक्षको नक्कली हस्ताक्षर प्रयोग गरी अनधिकृत सूचना फैलाउनेहरूविरुद्ध साइबर कानुन अनुसार कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।
विद्यार्थीहरूलाई भ्रामक प्रचारप्रति ध्यान नदिई धैर्यतापूर्वक परीक्षाको तयारीमा जुट्न तथा सहज वातावरणमा परीक्षा सञ्चालन गर्न अभिभावक, शिक्षक र विद्यालय प्रशासनसँग सहकार्य गर्न बोर्डले अपिल गरेको छ ।