
संगीता खत्री
काठमाडौं । एक दशक बित्यो, तर गोरखा भूकम्पले छाडेको घाउ अझै पनि आलै छ । २०७२ सालको वैशाख १२ गते बिहानको त्यो विनाशकारी क्षण अहिले पनि हजारौं नेपालीको स्मृतिमा ताजै छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पले देशको मुटु हल्लाएको थियो ।
८ हजार ९ सय ७० जनाको ज्यान लिएको त्यो विपत्तिले दशौं हजारलाई अपाङ्ग, र लाखौंलाई बेघर बनायो । निजी र सरकारी संरचनासहित साढे आठ लाख संरचना क्षतिग्रस्त भए । दस वर्ष बितिसक्दा पनि पुनर्निर्माणको काम अपूरो छ, र नागरिकको मनबाट त्रास अझै पन्छिएको छैन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पछिल्लो समय केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत गरिएको खर्च करिब तीन खर्ब ७६ अर्ब ४८ करोड नाघिसकेको छ । निजी आवास निर्माणमा मात्रै दुई खर्ब ३३ अर्ब खर्च भइसके पनि अझै ९२ हजारभन्दा बढी परिवारको घर बन्न सकेको छैन ।
केन्द्र सरकार, स्थानीय तह र अन्तर्राष्ट्रिय सहयोगबीच समन्वयको अभाव, ढिलासुस्ति, अनि प्रविधि र दक्ष जनशक्तिको कमीले पुनर्निर्माण सुस्त देखिएको छ । धेरै संरचना अझै योजनाविना निर्माण भइरहेका छन्, जसले अर्को सम्भावित भूकम्पमा जोखिम झनै बढाउन सक्ने देखिन्छ ।
१० वर्षसम्म ५५ हजारभन्दा बढी परकम्प गइसकेका छन्। अहिले पनि नेपालका पश्चिम क्षेत्रहरूमा दैनिक भूकम्प गइरहेका छन्। भूगर्भविद् डा. सुबोध ढकाल भन्छन्, “नेपालमा ८० देखि १०० वर्षको अन्तरालमा ठूलो भूकम्प आउँछ भन्ने मान्यता छ, र गोरखा भूकम्प त्यसको प्रमाण हो।” जसले फेरि पनि कुनै दिन नेपालमा ०७२ सालकै भूकम्पको नियति दोहोरिने हो कि भन्ने चिन्ता कायमै छ ।
अझ गम्भीर कुरा त के भने, पश्चिम नेपालमा पछिल्लो ५२५ वर्षदेखि ठूलो भूकम्प गएको छैन। भौगोलिक संरचना उस्तै भए पनि नागरिकस्तरमा चेतना घट्दै गएको देखिन्छ । ’घर जसरी भए पनि बनाइहालिन्छ’ भन्ने सोच अहिले पनि व्याप्त छ।
०७२ को भूकम्पपछि विपद् जोखिम न्यूनीकरण सम्बन्धी निकाय स्थापना भएका छन्, तथ्यांक प्रणाली विकसित हुँदै गएको छ, तर नागरिक सतर्कता फेरि हराउँदै जानु चिन्ताजनक हो। १० वर्ष लामो समय भयो, तर गोरखा भूकम्पको सन्देश अझै पूरा रूपमा आत्मसात गर्न सकिएको छैन । पुनर्निर्माण अधुरो छ, संरचना बलियो छैनन्, जनमानस त्रसित छ तर सतर्क छैन।