
चितवन, भरतपुर–९ | सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सामाजिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर–९, चितवनले शनिबार हाकिम चोकमा एक भव्य खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। संस्थाको सामाजिक सेवामा सक्रियता र जनहितप्रतिको प्रतिबद्धतालाई साकार बनाउन आयोजित सो कार्यक्रममा स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा युवाहरुको उल्लेखनीय उपस्थिति देखिएको थियो।
उक्त कार्यक्रममा जम्मा ७६ प्वाइन्ट रगत संकलन गरिएको थियो। यो संख्याले जनसमुदायको रक्तदानप्रतिको सचेतता र सहकार्यलाई प्रतिबिम्बित गर्छ। कार्यक्रममा सामाजिक क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्षहरूको उपस्थिति रहनुका साथै, स्थानीय युवा समूह जमनासको सक्रिय स्वयंसेवी टोलीले व्यवस्थापनमा बेजोड साथ दिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि हेमलाल कंडेलले भने, “सामाजिक अभियानमा सहकारी संस्थाहरूको अग्रणी भूमिका अत्यन्तै प्रशंसनीय छ। यस्ता रक्तदान कार्यक्रमहरूले मानिसमा मानवता र सेवा भाव बढाउँछ। सहकारी मात्र कारोबारको संस्था होइन, समुदायको भरोसा बन्नुपर्छ भन्ने उदाहरण हो आजको यो कार्यक्रम।”
कार्यक्रम संयोजक तथा सचिव सन्तोष दवाडीले भने, “हामीले केवल आर्थिक सशक्तीकरणमा होइन, सामाजिक चेतनामूलक पहलमा पनि गम्भीरता देखाएका छौं। यस्ता गतिविधिले हाम्रो संस्थालाई समुदायप्रति अझ उत्तरदायी बनाउँछ।”
संस्थाका उपाध्यक्ष नरेन्द्र सापकोटाले रक्तदानलाई जीवनदानको रूपमा चित्रण गर्दै भने, “हामी केवल बचत–ऋणसम्म सीमित रहँदैनौं, समाजमा हाम्रो उपस्थिति सेवा र समर्पणमार्फत देखिनुपर्छ भन्ने हाम्रो धारणा हो।”
कोषाध्यक्ष श्याम कंडेलले सम्पूर्ण रक्तदाता र स्वयंसेवकलाई धन्यवाद दिँदै भने, “आजको उत्साहजनक सहभागिताले हामीलाई आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्यक्रम ल्याउन हौसला दिएको छ।”
कार्यक्रम व्यवस्थापनमा एल.जी. महोत्तो रक्त संकलन टोलीले प्राविधिक पक्षमा सशक्त व्यवस्थापन गरेको थियो। कार्यक्रम सञ्चालनमा गणेश प्रसाद कंडेलले सन्चालकको रूपमा सशक्त भूमिका निर्वाह गरेका थिए।
यस किसिमका कार्यक्रममा सहकारी संस्थाको सक्रियता र जिम्मेवारीबोधले समाजमा सेवा भावको चेतना जगाउने काम गर्ने सहभागीहरूले बताएका छन्। आयोजक संस्थाले आगामी दिनहरूमा स्वास्थ्य, शिक्षा र सामाजिक चेतनासँग सम्बन्धित अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।