
सम्पादकीय-सुर्य प्रसाद खनाल
काठमाडौं,पूर्ण तथा अति अशक्त मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिभियर स्पाइनल कार्ड इन्जुरी, स्पाइना बिफिडा लगायत अपांगता भएका व्यक्तिहरूको लागि एकदिने उपत्यकाव्यापी बोसिया खेलकुद प्रशिक्षण तथा प्रतियोगिता सोमबार काठमाडौंको बबरमहलस्थित सामुदायिक भवनमा सम्पन्न भएको छ।
नेपाल बोसिया संघको आयोजनामा, काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ६९ जना फरक क्षमता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। खेलमा सहभागीहरूमा muscular dystrophy, cerebral palsy, developmental delay लगायत विभिन्न अवस्थाका अपांगता भएका व्यक्ति थिए।
कार्यक्रमको उद्घाटन सत्रमा काठमाडौं महानगरपालिका कार्यपालिका सदस्य सरोज कुमार मुल्मी प्रमुख अतिथि रहनु भएको थियो भने समापन सत्रको प्रमुख आतिथ्यता महानगरकी उपप्रमुख सुनिता डंगोलले गर्नुभयो।
नेपालमा बोसिया खेलको सुरुवात वि.सं. २०६४ मा भएको हो र अहिले फरक क्षमता भएका व्यक्तिहरूका लागि निकै उपयोगी र लोकप्रिय खेलको रूपमा विकास भइरहेको छ। उपस्थित सहभागीहरूले बोसिया खेलका माध्यमबाट आत्मबल, एकता र खेलकुद क्षमताको प्रदर्शन गर्दै आफूहरूलाई समावेशी वातावरणमा अघि बढ्न चाहेको जनाएका थिए।
कार्यक्रममा संघकी अध्यक्ष गोमा देवी पौडेलले आर्थिक अभावकै कारण सबैलाई समेटेर अझ व्यवस्थित रूपमा कार्यक्रम गर्न नसकेको उल्लेख गर्नुभयो। उहाँले थप सहयोगको आवश्यकता औंल्याउँदै आगामी दिनमा अझ सशक्त रूपमा कार्यक्रमहरू गर्ने प्रतिवद्धता जनाउनुभयो।
समापन सत्रमा उपप्रमुख डंगोलले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै, “आफ्नो स्थानबाट आवश्यक पहलमा कमी हुन दिनेछैन,” भनी आश्वासन दिनुभयो। साथै उहाँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी कार्यक्रमको समापन गर्नुभयो।
बोसिया खेल जसमा खेलाडीहरूले आफ्ना क्षमता अनुसार हात, खुट्टा वा र्यामको सहायता लिएर बल फ्याल्ने गर्छन्, फरक क्षमता भएका व्यक्तिहरूको लागि समान अवसर र सहभागिताको उज्यालो माध्यम बन्न थालेको छ।
नेपाल बोसिया संघले भविष्यमा देशव्यापी रूपमा यस्ता प्रतियोगिता र प्रशिक्षण विस्तार गर्दै समावेशी खेलकुद विकास गर्ने प्रतिबद्धता जनाएको छ।
तस्बिरहरु :
रश्मि खनाल (खेलाडी)