काठमाडौं, जेठ २८ (११ जुन, २०२५)

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा र ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) को आयोजनामा चारदिने क्षमता अभिवृद्धि तालिम आजबाट काठमाडौंको ठमेलस्थित गोकर्ण हाउस रेस्टुरेन्टमा सुरु भएको छ।

उक्त तालिममा नक्सा पढ्ने (Map Reading), मौसम बुझ्ने (Weather Reading), नेभिगेसन, फर्स्ट एड तथा हिमाली सुरक्षासम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिइने भएको छ। तालिममा कूल ५५ जना ट्रेकिङ गाइडहरू सहभागी छन्।

तालिमको उद्घाटन सत्रमा टानका अध्यक्ष सागर पाण्डेले अध्यक्षता गर्नुभयो भने संचालन टानका कार्यसमिति सदस्य तथा तालिम संयोजक राजु गुरुङले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले चुनावअघि गरिएका पेशागत दक्षता, क्षमता अभिवृद्धि तथा मजदुर हकहितका प्रतिबद्धता आफूले नबिर्सेको बताउँदै विगत ७ महिनामा विभिन्न तयारीका कार्यहरू अघि बढाइरहेको उल्लेख गर्नुभयो। साथै, अघिल्लो कार्यसमितिका कारण पर्यटन बोर्डबाट बजेट अवरुद्ध भएको र नयाँ बजेट नआएकाले काममा केही कठिनाइ भएको पनि खुलाउनुभयो।

उनले ट्रेकिङ गाइडहरूको पेशागत सुधारका लागि TIMS कार्ड कार्यान्वयन र चेकपोस्ट स्थापनाको कार्य पहिलो दिनदेखि नै सुरु गरिएको र चाँडै सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो। टानको आयस्रोत सदस्य कम्पनीहरूको नवीकरण शुल्क मात्र भएकोले AGM खर्चमा नै त्यो रकम पुग्ने बताउँदै, यस्ता तालिमहरू अब टानको वार्षिक क्यालेन्डरमै समावेश गरेर नियमित गरिने जानकारी दिनुभयो।

कार्यक्रममा ढिला उपस्थित हुनुभएका वरिष्ठ निर्देशक ऐरले पर्यटन बोर्डको तर्फबाट सम्भव सहयोग गर्न कुनै कसर नराख्ने प्रतिबद्धता जनाउँदै तालिमको सफलताको शुभकामना दिनुभयो।

चार दिनसम्म चल्ने तालिममा अनुभवी प्रशिक्षकहरूले गाइडहरूलाई प्रत्यक्ष अभ्याससहित प्रशिक्षण प्रदान गर्नेछन्, जसले भविष्यमा ट्रेकिङ सुरक्षामा नयाँ आयाम थप्ने विश्वास आयोजकहरूको छ।
तस्बिरहरु:

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय