गोरखा, साउन १३
स्वास्थ्य सेवाको पहुँच गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले भिमसेनथापा गाउँपालिकाले एक प्रभावकारी र स्वागतयोग्य पहल सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले अब प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामार्फत निःशुल्क ल्याब परीक्षण सेवा सुरु गरेको छ, जसले गर्दा अब रगत परीक्षणलगायतका विभिन्न स्वास्थ्य जाँचका लागि गोरखा बजार वा काठमाडौं जानु नपर्ने भएको छ ।

निम्न स्वास्थ्य संस्थामार्फत सेवा सञ्चालनमा ल्याइएको छः
• बोर्लाङ्ग स्वास्थ्य चौकी – बोर्लाङ्ग
• धावा स्वास्थ्य चौकी – धावा
• बगुवा स्वास्थ्य चौकी – बगुवा
• खान्चोक स्वास्थ्य चौकी – घ्याम्पेशाल
• शहीद स्मृति आधारभूत अस्पताल – अश्राङ्ग

यी संस्थाहरूबाट सर्वसाधारणलाई आवश्यक पर्ने रगत परीक्षण तथा अन्य ल्याब सेवाहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाका अनुसार, समयमै रोगको पहिचान, उपचारमा सहजता, र आर्थिक बोझ न्यूनीकरण गर्न यो कार्यक्रम ल्याइएको हो । विशेष गरी ग्रामिण भेगका नागरिकहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो ।

स्थानीयवासीहरूले पनि यो निर्णयको खुलेर प्रशंसा गरेका छन् । “पहिला सामान्य परीक्षणका लागि समेत बजार धाउनु पर्थ्यो, अब घर नजिकै सेवा पाउँदा ठूलो राहत मिलेको छ,” बोर्लाङ्गकी एक वृद्ध महिलाले भनिन् ।

भिमसेनथापा गाउँपालिकाको यो कदम स्वास्थ्य सेवा स्थानीयकरणतर्फको उल्लेखनीय प्रगति हो ।
गाउँमै सेवा, गाउँमै समाधान — स्वास्थ्य क्षेत्रमा यस्तो अभियान उदाहरणीय बन्ने अपेक्षा गरिएको छ ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय