आहा! कति गहकिलो शब्द छ राजनीति! शब्द सुन्दैमा देशको भाव झल्किने,तर आजकाल त शब्दलाई नै
परिमार्जन गरेर राजको सट्टा अगाडि लाज थपिदिउ जस्तो लाग्छ। खै किन पो हो कुन्नी मलाई मात्र हुन्छ कि
यस्तो थाहा छैन। जब एउटा मध्यम युवा +2 सम्म हिटीहिटी हुनेगरी आफ्नै देशमा पढ्छ अथवा उसलाई
परिवारले आफ्नो हाडनङ्ग्रा खियाएर +2 सम्म धकल्दै धकल्दै पुर्याउँछन्। र +2 पश्चात् पनि फेरि उसले
दायाँबायाँ नसोची आफ्नै देशमा केही गर्नुपर्छ, परिवारसँग रमाउनुपर्छ र आफ्नो दुःख आफ्नै देशलाई सुम्पिनु
पर्छ भनेर ब्याचलर पढ्न थाल्छ। कयौं साथीहरु सुकिला सहरमा प्रवेश गर्दै गर्दा हरेक कुरालाई पोजिटिभ रुपमा
लिँदै जाँदा आफ्नै देशमा ब्याचलर पढ्न थाले पछि किन एउटा युवालाई मरुभूमिमा पानी हाले जस्तै सोच
आउँछ?
सिक्दै,हेर्दै, सुन्दै,गर्दै अघि बढ्दाखेरि किन हरेक क्षेत्रमा अनावश्यक बाधा उत्पन्न हुन्छ। त्यस्ता बाधाहरुबाट पछि
हट्ने भनेको हैन हरेक कुराहरु SYSTEM मा आधारित भएर गर्नुपर्छ ।जताततै हेर्यो भताभुङ्ग र लथालिङ्ग
बाहेक केही देखिँदैन। एउटा काम सम्पन्न गर्न अर्को सहारा बनिदिनुपर्छ।यहाँ SYSTEM ले हामीलाई हल्लाउनुपर्ने
ठाउँमा हामीले सिस्टमलाई हल्लाइरहेका छौं।
म एउटा कृषि पढ्दै गरेको युवाको मन र मस्तिष्कमा उब्जिएका विचारहरूलाई प्रस्फुटन गर्दैछु। एउटा घरको
जग बलियो छ, पिलर आदि बलिया छन् तर ढलान बलियो छैन,सधैं पानी पर्दा रसाउँछ, चुहिन्छ भने त्यसले
जिन्दगी भर दुःख दिन्छ। हो, त्यस्तै कथा र व्यथा म हाम्रै देशमा जोड्छु। विभिन्न युनिभर्सिटीले पढाउँछन् र
हामी जस्ता हजारौं युवाहरुले पढ्छन्। कृषि क्षेत्रमा विभिन्न नीति नियमहरू तयार हुन्छ र माथिल्लो स्तरमा
त्यसलाई लिड गर्ने व्यक्ति दर्बिलो हुँदैन। यदि मलाई कपाल काट्न आउँदैन अर्थात् कैची खेलाउन आउँदैन भने,
हैन मलाई सबै आउँछ भन्दै किन अघि तम्सिने? हामी आफ्नो क्षेत्र, विधामा multi-talented हुने हो, हरेक
क्षेत्रमा multi-talented हुन खोज्नाले भुइँमा खसेको पत्तै पाइँदैन। मैले भन्न खोजेको के हो भने आलु फलाउने हो
भने खेतमा उत्रिनै पर्छ, नङ्ग्रा खियाउनै पर्छ। ल भन्नुस् त उसो भए कृषिमन्त्री बन्न के गर्नुपर्ला?
हाम्रो देशमा राजनीति गर्नेले कृषि बुझ्दैनन् र हामी जस्ता विद्यार्थीहरूले तिनीहरूले गरेको राजनीति बुझ्नुपर्ने?
सक्छौ भने तिम्रा ती नातावाद, कृपावाद सबैवाद लिएर मिति पुगेकाहरुले तत्काल कुर्सी छोड। राजनीति ज्यादै
गहकिलो र जटिल क्षेत्र हो जहाँ चुनौतीहरूको सामना गर्न दृढता, धैर्यता र रणनीतिक सोच चाहिन्छ तर पनि
यदि कुनै युवा देशको अस्थिर अवस्था देखेर राजनीतिमा प्रवेश गर्न खोज्छ भने यो निश्चित रुपमा साहसी र
दूरदर्शी कदम हो। राजनीति भन्दा पनि जननीति लिएर हामी स्थानीय तहबाट नै कदम चाल्छौं। यदि सक्छौ
भने आट, सल्लाह र हौसला देउ, कोहि कसैलाई होच्याएर भन्न खोजेको होईन ,हो आफ्नो ठाउँमा संघर्ष गर्याै
होला तर अब तिमीहरूको राजनीति नि के भन्नु बिना नीति युवा पुस्तालाई पच्दैन। राजनीति भन्नाले केवल
दलमा लाग्नु, पद लिनु वा चुनाव लड्नु मात्र होइन राजनीति भनेको नीति निर्माण प्रक्रियामा कुनै न कुनै रुपले
सहभागी हुनु हो। फेरि पनि युवा पुस्ता राजनीतिमा आउँदैन भने पुराना सोच भएका मानिसहरुले नीति
बनाइरहन्छन्, युवा पुस्ताको समस्या नसम्झिने सरकारहरू आउँछन्। र दीर्घकालीन सुधार असम्भव जस्तै छ।
सबैजना दलमा जानपर्छ भन्ने छैन। तर जागरुक नागरिक भएर नीतिगत विषयमा आवाज उठाएर संलग्न भएर
राजनीति गर्नु आवश्यक हुन्छ। त्यसैले अब आगामी दिनमा राजनीति बिना कृषिमा केही सुधार होला तर त्यो
सुधार स्थायी र दीर्घकालीन नहुन सक्छ। त्यसैले हामी युवाहरुले सिधा दलको राजनीतिमा जानैपर्छ भन्ने होइन
तर नीति निर्माणमा प्रभाव पार्न सक्ने तहमा जानु ,संगठित हुनु, आवाज उठाउनु भने अनिवार्य छ।तिमीहरूको

आफ्नो काम र शरीरले विश्राम मागेको कैयौं वर्ष भइसक्यो। अझै केका लागि दौडिरहेका छौ? अब त युवा
पुस्तालाई देशको भविष्य हस्तान्तरण गर्दै आफू बिस्तारामा पल्टेर तातो पानी पिउँदै अथवा कफी चुस्स लिँदै
भित्ताभरिको रङ्गिन टिभीमा युवा पुस्ताले देशमा ल्याएको परिवर्तन हेर्न आतुर छैनौ? फेरि पनि
दौडिरहने?त्यसैले हामी पक्कै आउछौ हो समय लाग्ला तर देश बिगार्दैनौ -बिगार्न दिँदैनौ ,भत्काउँदैनौ- भत्काउन
दिदैनौ र अवश्य बनाउँछौं बनाउँछौं।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय