
काठमाडौं, भदौं ३ — नेपाल पर्वतारोहण संघ (NMA) को २०८२ साल भदौं ७ गते (23rd August 2025) हुने निर्वाचन नजिकिँदै गर्दा, पर्यटन व्यवसायी तथा पर्वतीय क्षेत्रका सक्रिय अभियन्ता चन्दन थापाले सचिव पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। थापाको स्थायी घर भिमसेन थापा गाउँपालिका–६, गोर्खामा रहेको छ।
वरिष्ठ पर्यटन व्यवसायी फुर गेल्जे शेर्पाको नेतृत्वमा रहेको साझा र स्वतन्त्र समूहको तर्फबाट उम्मेदवार बनेका थापाले मुलुकको पर्वतीय पर्यटन क्षेत्रलाई सुरक्षित, दिगो र विश्वस्तरीय बनाउने अठोट व्यक्त गरेका छन्। “नेपालका हिमाल र पहाडहरू हाम्रो मात्र होइन, विश्वकै सम्पत्ति हुन्। यसको रक्षा, प्रवर्द्धन र व्यवस्थित व्यवस्थापन हाम्रो साझा जिम्मेवारी हो। म यो जिम्मेवारी कर्तव्य र सेवा भावका साथ पूरा गर्न यहाँहरूको बीचमा आएको हुँ,” थापाले भने।
विगत लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय थापा, आरोहणदेखि ट्रेकिङसम्मको अनुभव बोकेका व्यक्तित्व हुन्। उनले हिमाली क्षेत्रमा सुरक्षा, वातावरणीय संरक्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि मजबुत बनाउन आवश्यक कदम चाल्ने योजनाबारे बताएका छन्। उनका अनुसार संघको नेतृत्वमा आएपछि सदस्यहरूको हित र अवसर सुनिश्चित गर्दै, नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने अभियान अघि सारिनेछ।
थापाले आफ्नो उम्मेदवारीलाई कुनै व्यक्तिगत पद–लोभ नभई क्षेत्रको भविष्य निर्माणका लागि लिइएको जिम्मेवारीको रूपमा व्याख्या गर्दै भने, “तपाईंहरूको विश्वास र समर्थनले हामीलाई मात्र होइन, सम्पूर्ण पर्वतीय पर्यटन समुदायलाई जिताउनेछ।”
फुर गेल्जे शेर्पाको समूहबाट उम्मेदवार बनेका थापाले आफ्नो टोलीलाई अनुभव, इमानदारी र सामूहिक नेतृत्वको प्रतिक बताउँदै, सबै पर्यटन व्यवसायी, पर्वतारोहण क्षेत्रका अग्रज तथा युवा आरोहीहरूमाझ एकताबद्ध भएर समर्थनको आह्वान गरेका छन्।
नेपाल पर्वतारोहण संघको निर्वाचन काठमाडौंमा हुने तय भएको छ, जसमा सचिवसहित कार्यसमितिका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ।