
-लक्ष्मण चौलागाईं
दशैं नजिकिँदै गर्दा बजारमा विशेष चहलपहल र उपभोग बढ्ने अपेक्षा थियो। तर, सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको ‘Gen Z आन्दोलन’ ले अर्थतन्त्रलाई ठुलो धक्का पुर्याएको छ। आन्दोलनका कारण देशभरका प्रमुख सहरहरूमा बन्दाबन्दी र कर्फ्यु लागू भएपछि व्यवसायीहरू गम्भीर संकटमा परेका छन्।
सपिङ महलदेखि साना खुद्रा पसलसम्म बन्द हुँदा उपभोक्ताको व्यवहार परिवर्तन भएको छ। उपहार सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्सजस्ता दशैंमुखी वस्तुहरूको बिक्री आधाभन्दा बढी घटेको व्यापारी महासंघले जनाएको छ। राजधानीमा होटल, सुपरमार्केट, बैंक शाखा र खुद्रा पसलमा भएको तोडफोड तथा आगजनीका कारण बीमा कम्पनीहरूले अनुमान गरेका क्षति दाबी ५० अर्ब रुपैयाँ भन्दा माथि पुग्ने देखिएको छ।
प्रविधिमा निर्भर डिजिटल व्यवसायीहरू—अनलाइन मार्केटिङ कम्पनी, इ–कमर्स उद्यमी, इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटर—आयको स्रोत कटौतीको समस्यामा परेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म बन्द हुँदा ग्राहकसँग सम्पर्क कट्यो, उत्पादन प्रचार रोकियो र विदेशी बजारमा पनि प्रभाव परेको छ।
उद्योगीहरूले आपूर्ति व्यवस्थापनमै चुनौती अनुभव गरिरहेका छन्। सडक अवरोधले कच्चा पदार्थ ढुवानी रोकिँदा उत्पादन प्रभावित भएको छ भने खुद्रा बजारमा उपभोग्य सामान अभाव देखिन थालेको छ। यसले उपभोक्तालाई खर्च घटाउन र अत्यावश्यकतामा मात्र सीमित रहन बाध्य बनाएको छ।
आर्थिक विज्ञहरूले यो संकटलाई केवल अल्पकालीन आन्दोलनको असर मात्र नभई डिजिटल–निर्भर अर्थतन्त्रको असुरक्षा को संकेतका रूपमा पनि हेरेका छन्। उनीहरूको भनाइमा, सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मसँग जोडिएका व्यवसायलाई वैकल्पिक प्रणाली निर्माण नगरी टेवा दिन नसकिने अवस्था छ।
दशैंको सुनौलो अवसरमा यो अनिश्चितताले व्यवसायीहरूलाई ठूलो आघात दिएको छ। बजार स्थिर नहुँदा राज्य राजस्वमा समेत नोक्सानी बढ्ने देखिएको छ।