
प्राकृतिक विपद्का घटनाबाट बढी जनधनको क्षति व्यहोर्ने मुलुकको सूचीमा नेपाल पनि गर्दछ । वैज्ञानिक ढंगले मौसम पूर्वानुमानका लागि यथेष्ट र आधुनिक उपकरण जडान भइनसकेको नेपालमा पूर्वसूचना प्रणालीको विकास र विस्तार पनि प्रभावकारी ढंगले हुन सकिरहेको छैन । जसले गर्दा गर्दा मुलुकले वर्षेनी ठूलो जनधनको क्षति व्यहोर्दै आइरहेको छ ।
गत शुक्रवार र शनिवार परेको अविरल वर्षाले एकचोटी फेरि यही कुराको चरितार्थ गरेको छ । मुलुकका सबै क्षेत्रमा प्रभावकारी ढंगले पूर्वसूचना प्रवाह हुन नसक्दा जलवायुजन्य विपदबाट हुने क्षति कम गर्न नसकिएको विज्ञहरुले विश्लेषण गरेका छन् ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले जल तथा मौसम विज्ञान विभागको पूर्वसूचना प्रणाली थप बलियो र व्यवस्थित बनाउन राज्यले लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले पूर्वसूचना प्रणाली बलियो नभएकै कारण मुलुकले बढी मात्रामा आर्थिक र गैरआर्थिक क्षति व्यहोर्नुपरेको बताए ।
उनले मनसुन बाहिरिएपनि पश्चिमी वायुको प्रभाव कायमै रहने उल्लेख गर्दै उनले कुनैपनि बेला विपद्जन्य प्रकोपको सम्भावना रहेको बताए । यद्यपि चालु वर्ष त्यस्तो सम्भावना नरहेको उनको भनाइ छ । उप्रेतीले अगामी बुधवारदेखि नेपालबाट मनसुन बाहिरिने उल्लेख गर्दै त्यसपछि धानबाली भित्र्याउन कुनै बाधा नपर्ने पनि बताए । उनले हालैको अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट भएको हानी नोक्सानीकाे तथ्यांक संकलन प्रभावकारी ढंगले हुनुपर्नेमा जोड दिए।