संसारमा प्रत्येक मानिसको नामसँगै कुनै न कुनै कथा जोडिएको हुन्छ। तर मेरो नाम केवल अक्षरहरूको मेल
मात्र होइन त्यो मेरो परिवारको इतिहास, बा को सपना अनि परिस्थितिको एउटा अमर सम्झना हो। जीवनका
धेरै प्रश्नहरू पुस्तौंसम्म अनुत्तरित रहन्छन्। कतिपय प्रश्नहरू त सोध्दा पनि उत्तर खोज्नु भन्दा बढी अनुभव
गरिनुपर्ने हुन्छ। म जब मेरो नाम देवांश सुन्छु, तब मनमा अनगिन्ती जिज्ञासाहरू फुट्छन्- किन यही नाम? किन
अर्को होइन? अनि सबैभन्दा ठूलो प्रश्न त्यो कठोर परिस्थितिमा पनि मेरो नाममा त्यति उज्यालो अर्थ कसरी
भरेर राख्न सक्यौ, बा?
मलाई थाहा छ मेरो जन्म कुनै सुख सुविधायुक्त महलमा भएको थिएन। कठिनाइले घेरेको घर, भोलिको
उज्यालो के हुने हो भन्ने अनिश्चितता थियो। जसले आधिँमा बिरुवा रोप्छ,उसैले भविष्यमा घामको आनन्द लिन
पाउँछ।आर्थिक कठिनाइ,सामाजिक दबाव र पारिवारिक चापको बीचमा पनि मलाई उज्यालो पहिचान दियौ।
तिमीले भोगेको अवस्था त सकारात्मक हुनलाई उपयुक्त थिएन।तर तिमीलाई हेर्दा लाग्छ मान्छे परिस्थितिभन्दा
ठूलो हुन पनि सक्छ। तिमीले देखायौ जीवन कठिन भएपनि आशाको बिउ रोप्न सकिन्छ र मलाई एउटा
जीवनको सुत्र दियौं- आफूभित्रको देवत्व कहिल्यै हराउन नदेउ।
यसो भन्दै गर्दा मेरो नाम उत्कृष्ट, पृथक भन्न खोजेको होइन। मैले त बा को मस्तिष्कमा कसरी फुर्याे होला भनेर
मात्र गन्थन गरेको हुँ। नाम देवांश हुँदैमा सधैँ सकारात्मक पक्षहरू मात्र छन् भन्ने हुँदैन। गल्तीलाई स्वीकार्दै/
महसुस गर्दै, नकारात्मक पक्षलाई त्याग्दै सत्कर्म र इमान्दारिताको पक्षमा दौडनेछु। धनबहादुर भन्दैमा उसँग
प्रशस्त धनु नहुन पनि सक्छ। मनबहादुर भन्दैमा उसँग विशाल हृदय नहुन पनि सक्छ। फूलकुमारी भन्दैमा ऊ
फुल जस्तै नहुन पनि सक्छे अथवा उसको फूलको बगैचा नहुन पनि सक्छ।
म जहाँ जान्छु मेरो नाम मेरो पहिचान मात्र होइन यसले त तिम्रो प्रेम र दृष्टिकोण पनि बाेकेर जान्छ। मेरो नाम
राख्दा भविष्यको बाटो सजिलो हुने कल्पना त गरेका थिएनौं होला तर आशा पक्कै गरेका थियौ नाम जस्तै
प्रकाश फैलाओस् भनेर। म थाक्न सक्छु, डगमगाउन सक्छु तर नाम सम्झिँदा फेरि उठ्छु। किनकि मेरो नाम केवल
म मात्र होइन,त्याे त तिम्राे सपना, अास्था अनि प्रेमको अर्को रूप हो। परिस्थितिले तिमीलाई हराउन
सकेन।त्यसैले तिमीले मेरो नाम मार्फत मलाई मात्र होइन, आफैलाई पनि सम्झायौ-अन्धकार जति नै गहिरो
भएपनि उज्यालोको अंश सधैं बाँकी रहन्छ।






