काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग मिलेर नयाँ राजनीतिक समीकरण बनाउने कार्यलाई तीव्रता दिएका छन्।
सहयोगी कुमार व्यञ्जनकारको ललितपुर कुपण्डोलस्थित निवासमा पछिल्लो दुई दिनदेखि ‘म्याराथन मिटिङ’ गरिरहेका मेयर बालेनले आफू संसदीय राजनीतिमा प्रवेश गरेको प्रस्ट सन्देश मात्र दिएका छैनन्, सबै नयाँ शक्ति मिलेर एकीकृत रूपले चुनाव लड्न आह्वान पनि गरेका छन्।
‘म अब सक्रिय राजनीतिमा आएँ, हामी सबै मिलेर चुनावमा जाऊँ,’ बालेनसँग विभिन्न चरणको छलफलमा सहभागी एक नेताले उनको भनाइ उद्धृत गर्दै सत्य संबाद
सँग भने।
उनका अनुसार बालेन अहिले विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्व विवेकशील साझाका नेतालाई ‘देश विकास पार्टी’ मा जोड्ने र त्यही पार्टीमार्फत् आगामी निर्वाचनमा देशव्यापी उम्मेदवारी दिने तयारीमा छन्। बालेनले छलफललाई तीव्रता दिनुको एउटा मुख्य कारण समानुपातिक सूची बुझाउने दिन नजिक आएकाले पनि हो। समानुपातिकको बन्दसूची यही पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाउनुपर्नेछ।
बालेनले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, सुनिल शर्मा, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, चिकित्सक डा. भगवान कोइराला र जेनजी अभियानका रक्षा बम, सागर ढकाल, केपी खनाल, अभिनेता निश्चल बस्नेत लगायतसँग छलफल गरेका थिए।
बालेनले आफ्नो राजनीतिक भेटवार्तालाई तीव्रता दिएको सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटेपछि हो।
रास्वपाले राखेको प्रस्तावलाई लिएर बालेन र रविबीच अहिले ‘निर्णायक’ वार्ता भइरहेको पनि स्रोतले जानकारी दियो। यसअघि बालेन र कुलमानबीच पनि आज बिहीबार बिहान भेटवार्ता भएको स्रोतले बतायो।






