गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ स्थित जराङमा “१७औँ जराङ कप २०८२” खुल्ला सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता माघ १ गतेदेखि ५ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता जनप्रेमी युवा क्लब, जराङ को आयोजनामा हुन लागेको क्लबका अध्यक्ष प्रज्वल देवकोटाले जानकारी दिनुभएको छ।
“जराङको विकास, अनुशासन र गतिशीलता” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस टूर्नामेन्टमा विजेताले रु १,१२,२२२ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५७,७७७ सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यसका अतिरिक्त उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स र सर्वाधिक गोलकर्तालाई समेत नगद र सम्मान प्रदान गरिने क्लबले जनाएको छ। प्रतियोगितामा जिल्लाभित्रका साथै बाहिरका विभिन्न क्लब र टिमहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रत्येक टिममा १० खेलाडी र २ अफिसियल अनिवार्य रहने र खेल फिफा तथा एन्फा नियमअनुसार सञ्चालन हुनेछ। खेल अवधिभर कुनै पनि खेलाडीले कार्ड नपाएमा कार्ड शुल्क फिर्ता गरिने व्यवस्था रहेको छ भने आयोजकले खेलकुद सुरक्षा एवं प्राथमिक उपचार केवल प्रारम्भिक उपचारका लागि मात्र उपलब्ध गराउने जनाएको छ। प्रतियोगिताका क्रममा उत्पन्न हुने विवाद वा झडपमा आयोजक समितिको निर्णयलाई अन्तिम मानिने क्लबले स्पष्ट पारेको छ।
जनप्रेमी युवा क्लबले विगत १७ वर्षदेखि निरन्तर यो प्रतियोगिताको आयोजना गर्दै आएको छ। क्लबले यस आयोजनाले स्थानीय युवा खेलाडीलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, सहकार्य र नेतृत्व क्षमता विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास लिएको छ। ग्रामीण क्षेत्रमा खेलकुद गतिविधिको विस्तार र प्रतिभावान खेलाडी उत्पादनमा मद्दत पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष देवकोटाले बताउनुभएको छ।






