यात्रा सधैँ गन्तव्यसम्म सीमित हुँदैन; कहिलेकाहीँ यात्राले मलाई आफ्नै सोच, समाज र मानवीय सम्बन्धको
गहिराइसम्म पुर्‍याइदिन्छ। गोरखाबाट पोखरा हुँदै लमजुङ फर्किँदै गर्दा गरिएको त्यो बस यात्रा पनि यस्तै
बन्यो। डुम्रे ओर्लिएर लमजुङ जाने बस समातेँ। म बसको पछाडिपट्टिको बायाँ सिटमा झ्यालतिर फर्किएर बसेको
थिएँ। बाहिरका डाँडाकाँडा, घरहरू र सडकको चहलपहल हेर्दै मौन रहनु मेरो बानी नै हो।
बस केही अगाडि बढेपछि एक महिला आएर मेरो छेउको खाली सिटमा बस्नुभयो। अन्दाजी २५–२६ वर्षकी,
विवाहित, काखमा सानी छोरी। छोरी हेर्दा क, ख, ग र A, B, C सिक्ने उमेरकी जस्ती लाग्थिन्। महिला
बस्नासाथ मोबाइल निकालेर फेसबुकमा डुब्नुभयो। छोरीलाई काखमा च्यापेर “ननिदाऊ है, मलाई समात्न गाह्रो
हुन्छ” भनेर बेलाबेला सम्झाइरहनु हुन्थ्यो, तर उहाँको ध्यान भने मोबाइलको स्क्रिनमै अडिएको थियो।यो कुनै
काल्पनिक नभई यथार्थ घटनाको व्याख्या गर्दै छु।
मेरो आँखा अनायासै त्यतैतिर पुगिरह्यो। कहिले बाहिर हेरेको जस्तो गरेँ, कहिले यताउता फर्किएँ। उहाँ यति
व्यस्त हुनुहुन्थ्यो कि हातको टाइप गर्ने शैली, अनुहारको रङ्ग र ओठको मुस्कानले स्पष्ट देखाउँथ्यो—उहाँ कुनै
गहिरो संवादमा डुब्नुभएको छ। त्यो मुस्कान कुनै सामान्य कुराको थिएन, त्यो भर्खरै उम्रिएको मायाको संकेत
जस्तो लाग्थ्यो। म मनमनै सोच्छु सायद छोरीको बुवा कतै टाढा हुनुहुन्छ होला, त्यसैले च्याटमै मन साटासाट
भइरहेको छ।
बेलाबेला उहाँ छोरीलाई “उता हेर त कत्रो घर”, “आम्मा कत्रो गाडी” भन्दै व्यस्त राख्ने प्रयास गर्नुहुन्थ्यो। तर
बिचरी छोरी निन्द्राले लठ्ठ परिसकेकी थिइन्। म चुपचाप त्यो दृश्य हेरिरहेँ। अचानक एउटा क्षण आयो, जसले
मलाई झस्कायो। उहाँले चलाइरहेको फेसबुक अकाउन्ट logout गरेर अर्को अकाउन्ट login गर्नुभयो। त्यतिबेला
मेरो मनमा अनेक प्रश्न उब्जिए।
दोस्रो अकाउन्ट खोलिसकेपछि उहाँको व्यवहार केही फेरिएको जस्तो लाग्यो। त्यो अकाउन्ट शायद उहाँको
श्रीमानसँग कुरा गर्ने अकाउन्ट हुनुपर्छ भन्ने मेरो अनुमान थियो। पहिलो अकाउन्ट के थियो, को थियो मलाई
थाहा भएन। तर एउटै मोबाइलमा दुईवटा संसार चलिरहेको देख्दा म भित्रैदेखि असहज भएँ।
हुन त यो उहाँको व्यक्तिगत जीवन हो, आलोचना गर्ने अधिकार मसँग छैन। तर एउटी छोरीकी आमा
भइसकेपछि, आफ्नो पहिचान र जिम्मेवारी बिर्सन मिल्छ र? यही सोचले मलाई निकै रिस उठ्यो, साथै गहिरो
खिन्नता पनि। मेरो मन बारम्बार त्यो छोरीको बुवातिर गयो, कता पसिना बगाउँदै, इमान्दारितापूर्वक
परिवारका लागि संघर्ष गरिरहनु भएको होला। यता भने छुट्टै संसार चलिरहेको छ।
मैले सबै महिलाहरू यस्तै हुन्छन् भन्न खोजेको होइन, न त सबै पुरुषहरू इमान्दार नै हुन्छन् भन्ने मेरो दाबी हो।
मैले त केवल आफूले प्रत्यक्ष देखेको एउटा दृश्य, एउटा क्षणलाई शब्दमा उतार्न खोजेको हुँ। आजको समाजमा
यस्तो अवस्था जहाँसुकै, जहिलेसुकै हुन सक्छ, विवाहित जीवनमा होस् वा नवप्रेमिल जोडीहरूमा।
म आफैँसँग प्रश्न गर्छु—मान्छे साँच्चै मान्छे बन्न खोज्दैछ कि प्रयोगपछि फालिने टिस्यु पेपर? वा एकपटक प्रयोग
गरेर फ्याँकिदिने प्लास्टिक बोतल? सम्बन्धहरू किन यति सजिलै प्रयोगको वस्तु बन्दै गएका छन्? इमान्दारिता
र विश्वास किन दिनप्रतिदिन सस्तो हुँदै गइरहेको छ?

जति नै चील आकाशको उचाइमा उडोस्, अन्ततः आफ्नो आहारा टिप्न जमिनमै झर्नुपर्छ। मान्छे पनि कति नै झूट,
दोहोरो जीवन र भ्रमको उचाइमा उडोस्, अन्ततः सत्यको भुइँमा झर्नैपर्छ। प्रश्न यत्ति हो त्यो झर्नु कति पीडादायी
हुन्छ?
आँखा चिम्लिएर गरिने विश्वास कमजोरी होइन, त्यो त सम्बन्धको मेरुदण्ड हो। तर त्यही विश्वासलाई धोका
दिनु सबैभन्दा ठूलो विश्वासघात हो। प्रायः सम्बन्धहरू विश्वासमै अडिएका हुन्छन्। त्यसैले ती सम्बन्धहरूलाई
विश्वासघातको कथामा सीमित नगरी, विश्वासका बातले भरिपूर्ण बनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता
हो।
यो घटना केवल एउटा बस यात्राको सम्झना मात्र होइन, यो मेरो मनमा गढेको प्रश्न हो—आखिर मान्छे के
चाहन्छ, र के बन्न खोज्दैछ?

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय