बाल संस्कारको अर्थ हुन्छ- जन्मेदेखि वयस्क हुँदासम्म उसलाई शिक्षित तथा संस्कारित तुल्याइनु । बालबालिका शिशु हुँदादेखि नै आमाबाबुका साथमा रहन्छन् । बालबालिकाहरु बाबुभन्दा पनि आमासँग अझ बढी नजिक हुन्छन् । उनीहरुले धेरै कुरा आमाबाट नै सिक्ने, पछ्याउने र अनुसरण गर्ने गर्छन् ।
हाम्रो समाजमा बाबु कमाइमा व्यस्त हुने हुँदा बाबुभन्दा पनि आमा नै बालबालिकाको निकट हुन्छन् । कतिपय शिशुका साथमा हजुरबा र हजुरआमा पनि रहन्छन् । कसैको भने हजुरबा र हजुरआमामध्ये एक जना मात्र पनि हुन सक्छन् । हजुरबा र हजुरआमाबाट पनि शिशुहरु वयस्क नहुँदासम्म थप केही पुराना संस्कारहरु पनि सिक्न सक्छन् । बाबुआमा दुवै व्यस्त हुने अवस्थामा भने शिशुकक्षा तथा आजभोलिको चलनअनुसार मन्टेश्वरी स्कुलमा पनि बालबालिका जिम्मा लगाइन्छ ।
शिशुलाई सानैमा यस्ता संस्थालाई जिम्मा लगाउँदा कतिपय संस्कारबाट बालबालिका वञ्चित हुनसक्छन् । पैसा नै ठूलो कुरा होइन भनेर बाबुआमामध्ये कुनै एकजना घरमै रहँदा राम्रो हुन्छ । विशेषगरी आमाहरु बालबालिकाका लागि गम्भीर भएर उनीहरुको हेरचाह गर्न सक्छन् ।
बाल संस्कारका लागि आवश्यक सूत्र
सकेसम्म बालबालिकालाई वयस्क नहुञ्जेल बाबुआमाका साथमा राख्नुपर्छ । केही नलागेमा मात्र शिशु स्याहार संस्थामा भर्ना गर्नुपर्छ । तर समय-समयमा बालबालिकाको अवस्थाका बारेमा संस्थासँग बुझ्नु जरुरी हुन्छ । त्यसका लागि संस्थाका सम्वद्ध जिम्मेवार व्यक्तिसँग समय-समयमा अन्तरक्रिया गर्नुपर्छ । बाल संस्कारका लागि देहाय बमोजिम कुराहरुमा ध्यान दिनु आवश्यक छ ।
आधुनिक जीवनशैलीलाई कम प्राथमिकता : आधुनिक जीवनशैलीले बालबच्चालाई जिद्दी स्वभावको बनाउन सक्ने हुँदा यसतर्फ विशेष चनाखो हुनु जरुरी छ । कृत्रिम पेयपदार्थ भन्दा शुद्ध र सफा पानी पिउने बानी बसाल्नुपर्छ । चकलेट र बिस्कुटमा भन्दा घरमै बनाएको रोटी खानमा जोड दिनुपर्छ । बालबालिकालाई सकेसम्म बजारको खानेकुराबाटै टाढै राख्नुपर्छ ।
शारीरिक विकास : साइकल चलाउन सकिने र साइकल किन्न पाइने ठाउँमा उमेरअनुसारको बनावट वा आकारका साइकल सिकाउनु राम्रो हुन्छ । जसले गर्दा व्यायाम हुने र खान पनि रुच्ने र पच्ने हुँदा उनीहरुको शारीरिक विकास सहज रुपमा हुन्छ । बालक ठूलो हुँदै जाँदा शरीरका लागि सन्तुलित भोजनको आवश्यकता पर्ने हुँदा सोही अनुसार खानपानमा ध्यान दिनुपर्छ । उनीहरुलाई खाली समयमा दौडिन र उफ्रिन पनि सिकाउनुपर्छ । घर वरपर वा छेउछाउमा भौगोलिक बनावट हेरेर उपयुक्त खालका खेल खेल्न लगाउनुपर्छ ।
मानसिक विकास : बालबालिकालाई बेलाबेलामा उनीहरुको मानसिक विकासका लागि उमेर र कक्षा अनुसारका प्रश्नहरु सोध्नुपर्छ । गलत जवाफ दिएमा रिसाएर होइन हाँसेर फेरि सोध्नुपर्छ । लुँडोभन्दा चेस खेलमा बढी लगाव हुने किसिमले सिकाउनुपर्छ । बाघचाल पनि मानसिक विकासका लागि उत्तम खेल मानिन्छ । सकेसम्म मोबाइलमा उपलब्ध डिजिटल गेमहरु खेल्नबाट बचाउनुपर्छ । मोबाइलमा गेम खेल्ने लत लागेपछि छुटाउन गाह्रो हुने र गर्धन दुख्ने, आँखा पोल्ने जस्ता शारीरिक समस्या उत्पन्न हुने हुँदा यसतर्फ पनि अभिभावकले विशेष ध्यान दिनु जरुरी हुन्छ ।
मोबाइलबाट टाढा राख्ने : हिजोआजका बालबालिकाले बाबुआमाको हातबाट मोबाइल खोस्ने र जिद्दी गर्ने देखिएको पाइन्छ । बालबालिकाको हातमा परेको मोबाइलमा कतैबाट फोन आएमा फोन नै काटिदिने र आफूखुसी किसिमले मोबाइल चलाउने गर्दा अभिभावकलाई समस्या थपिन सक्छ । वास्तवमा बालबालिकालाई मोबाइल दिनु गलत कार्य हो ।
बाबुआमा झगडा नगर्ने : बालबालिकाको अगाडि बाबुआमा विवाद गर्ने, झगडा गर्ने जथाभावी वाकयुद्ध गर्ने वा मनपरी बोल्ने र तल्लास्तरका शब्दहरु प्रयोग गर्नाले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने सम्भावना ज्यादा रहन्छ । त्यसैले यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ । छिमेकका बालबालिकालाई समेत माया गर्दा आफ्ना बालबालिकामा सकारात्मक सन्देश जान्छ । बालकालिकाको संगत राम्रा साथीहरुसँग छैन भने यसतर्फ अभिभावकले गम्भीर विचार गर्नुपर्छ र त्यस्तो संगतलाई न्यूनीकरण गर्नेतर्फ ध्यान दिनुपर्छ ।
घरमै शिक्षा : बालबालिकाका लागि शिक्षादीक्षाका निमित्त पाठशालामा मात्र भर पर्नुहुँदैन । घरमा पनि बाबुआमाले उनीहरुलाई थप शिक्षा दिनुपर्छ । बाल संस्कारको यो महत्वपूर्ण पाटो पनि हो । उनीहरुका नराम्रा व्यवहारलाई हटाउने प्रयत्न गर्ने र राम्रा व्यवहारमा उत्प्रेरित गर्नुपर्छ ।
महंगो विद्यालय मात्र नरोज्ने : महंगो विद्यालय भन्दैमा स्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने छैन । विद्यालयको स्वरुपभन्दा पनि त्यहाँका शिक्षकको योग्यता र दक्षताबारे जानकारी लिएर मात्र विद्यालयमा भर्ना गरिदिनुपर्छ ।
सकेसम्म बोर्डर्स नगर्ने : बोर्डर्स गरेका बालबालिका बोर्डर्स नगरेका बालबालिकाभन्दा फरक स्वभावका हुन्छन् । उनीहरुमा अभिभावकप्रतिको भावनात्मक सम्बन्ध कम हुन्छ । किनकि उनीहरु बाबुआमाको समीपमा नरहँदा आफूखुसी गर्ने बानी बसिसकेको हुन्छ । उनीहरुमा अटेरी गर्ने र भनेको नमान्ने तथा हँसमुखको अभाव हुने कुरामा कुनै सन्देह छैन ।
अभिभावकले कामलाई मात्र महत्व दिंदा र बालबालिकालाई विद्यालयमा बोर्डर्स गर्दा उनीहरुमा त्यसको नकारात्मक असर पर्छ । अभिभावकले पैसा मात्र सबथोक होइन भन्ने सोच राख्नुपर्छ ।
बाल मनोविज्ञानमा ध्यान दिने : शब्दकोश अनुसार मनोविज्ञानको अर्थ मनमा उब्जिने विविध विचार, मनको प्रकृति, अवस्था, क्रियाकलाप आदिको विस्तृत विवेचना गर्ने विज्ञान वा शास्त्र हो । मानिसको मनको अध्ययन गर्ने विज्ञान नै मनोविज्ञान हो । बालबालिकाको मनोविज्ञानलाई नै बाल मनोविज्ञान भनिन्छ । बालबालिकाको विचार, अवस्था र क्रियाकलापबारे जानकारी हासिल गर्नु कुनै पनि अभिभावकको कर्तव्य हुन आउँछ ।
सकारात्मक सोचको विकास : बालबालिकामा देखिने अस्वाभाविक अर्थात् नकारात्मक व्यवहारलाई न्यूनीकरण गर्नका लागि उनीहरुमा सकारात्मक सोचको विकास गर्नका निमित्त बाबुआमाले विशेष ध्यान दिनु आवश्यक हुन्छ । अभिभावकले आफ्ना बालबालिका खुसी छन् कि छैनन् उनीहरुको व्यवहार हेरेर थाहा पाउन कोसिस गर्नुपर्छ । अस्वाभाविक व्यवहार देखिएमा उनीहरुलाई सम्झाउने गर्नुपर्छ । यसका लागि बाबुआमामा कर्तव्यबोध हुनु जरुरी छ ।
नजिक विद्यालय भए बस नचढाउने : बालबालिकाको विद्यालय नजिक छ भने उनीहरुलाई घरबाट विद्यालयसम्म हिंडेर जाने बानी बसाल्नुपर्छ । साना बालबालिकाको हकमा सुरक्षित किसिमबाट विद्यालयसम्म लैजाने र ल्याउने गर्नु उपयुक्त हुन्छ । यसबाट उनीहरुको शरीरमा कसरत पनि हुने, पाचन प्रणाली सही हालतमा रहने र बसको लागि खर्च जोगिने हुन्छ ।
सरसफाइ : बालबालिकालाई बिहान समयमै उठ्ने बानी लगाउनुपर्छ । बिहान उठेपछि नियमित सरसफाइका लागि नियम बनाउनु उपयुक्त हुन्छ । बालबालिकाको शरीरको सरसफाइ र पोशाकको सरसफाइतिर पनि ध्यान दिनुपर्छ । साँझ-बिहानको खानापछि अनिवार्य रुपमा दाँत माझ्न लगाउनुपर्छ । गुलिया खानेकुरा कम खान लगाउने र त्यस्ता वस्तु खाँदा बित्तिकै कुल्ला गर्न लगाउने गर्नाले पछिसम्म दाँतमा समस्या नआउने हुन्छ ।
सुरक्षित भोजन : बालबालिकाका लागि मात्र होइन समग्र परिवारकै लागि भोजन सुरक्षित, सुपाच्य, स्वास्थ्यवर्द्धक र सफा हुनुपर्छ । शक्तिवर्द्धक, बोसोयुक्त र प्रोटिनयुक्त खानेकुरा धेरै खुवाउनुहुँदैन । किनकि त्यस्ता खाना तथा खाजाले बालबालिकाको शरीर मोटो हुन गई भद्दा देखिने हुन्छ । कसैकसैले बालबच्चा मोटोघाटो भएकोमा प्रसन्न देखिन्छन् । तर यो सोच गलत हो । आवश्यकताभन्दा बढी मोटाउनु राम्रो होइन । शरीर चुस्त, दुरुस्त र छरितो हुनुपर्छ । त्यसका लागि सन्तुलित खाना खुवाउनुपर्छ ।
उग्रता नियन्त्रण : बालबालिका जिद्दी र उग्र स्वभावका देखिएमा मीठो वचनले फकाइफुलाइ गरेर उनीहरुको मानसिकतामा परिवर्तन गर्न सकिन्छ ।
सिर्जनशील काम सिकाउने : बालबालिकालाई आफ्नो लुगा धुन सिकाउने, क्षमताअनुसार करेसाबारी वा बगैंचामा बोटबिरुवा गोडमेल गर्न लगाउन सकिन्छ । चित्र बनाउने, संगीत बजाउने, अंक गणना गर्न लगाउने गर्नुपर्छ । साथै कविता लेख्न पनि सिकाउन सकिन्छ ।
आफैं खान सिकाउने : कतिपय आमाले १० वर्षको उमेरका बालबालिकालाई समेत खाना आफैंले खुवाइदिने गरेको पाइन्छ । तर यसो गर्नु बालबालिकाको विकासका लागि राम्रो होइन । आमाको दूध खान छाडेपछि बच्चालाई आफैं खाना खान र पानी पिउन सिकाउनुपर्छ ।
ढोग र अभिवादन सिकाउने : घरमा मान्यजन, नातेदारहरु आउँदा हिजोआजका कतिपय बालबालिकाले अभिवादन गरेको देखिंदैन । त्यस्तै बाबुआमाका साथीहरु आउँदा र समाजका प्रतिष्ठित व्यक्ति घरमा आउँदा नमस्कार वा अभिवादन गर्ने गरेको कम पाइन्छ । बाबुआमाले भनेपछि मात्र ढोग र नमस्कार गर्ने बानीभन्दा पनि स्वतःस्फूर्त रुपमा ढोग र नमस्कार गर्ने बानी बसाल्न सकेमा उत्तम हुन्छ ।
गृहकार्यमा सघाउने : विद्यालय जाने बालबालिकालाई समयमा गृहकार्य गरे नगरेकोबारे पनि अभिभावकले चासो राख्नैपर्ने हुन्छ । गृहकार्य गर्नैपर्ने हाम्रो शिक्षा परिपाटीले गर्दा छुटेमा उनीहरुलाई नै भार पर्ने हुन्छ । त्यसैले समयमै गृहकार्य गराउन सहयोग पुर्याउनु राम्रो हुन्छ ।