काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र दुईखाले प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बस्नेतले एउटा पंक्ति परिभाषित जिम्मेवारी पूरा गर्दै पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक खटिरहेको बताए । अर्को सानो घेराको पंक्ति भने गुटबन्दी गर्ने, पार्टी र नेतृत्वको विरोध गर्ने तथा क्यान्टिनमा बसेर विभिन्न गतिविधि गर्ने प्रवृत्तिको रहेको उनको टिप्पणी छ ।
‘नेकपा एमालेभित्र दुई प्रवृत्ति देखिन्छन् । पहिलो प्रवृत्ति परिभाषित जिम्मेवारी पूरा गर्दै पार्टी र जनताको पक्षमा इमानदारीपूर्वक खटिने आम पंक्ति । अर्को, सानो घेराको पंक्ति जो गुटबन्दी गर्ने, खुरापाती गर्ने, पार्टी र नेतृत्वको विरोध गर्ने, पार्टी कार्यालयको चौरको घाँस माड्ने अनि क्यान्टिनको चियाको कपमा क्रान्तिको आँधीबेहरी सिर्जना गर्ने’, बस्नेतले लेखेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो मन्तव्यपछि पार्टीभित्रको एउटा समूहमा असन्तुष्टि देखिएकोतर्फ संकेत गर्दै बस्नेतले व्यंग्यसमेत गरेका छन् ।
‘हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरूलाई कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ’, उनले भनेका छन् ।
बस्नेतले अहिलेको आवश्यकता पार्टीभित्र गुट–उपगुट निर्माण गर्नु नभई एमालेलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउनु रहेको बताएका छन् ।
कुरा काटेर नभई जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
‘आजको आवश्यकता गुट–उपगुटमा विभाजित हुने होइन, पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउने हो । कुरा काटेर होइन, जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढ्ने हो’, बस्नेतले लेखेका छन् ।






