काठमाडौं । नेपाली फिल्म उद्योगका लागि साउन उत्साहजनक रह्यो। साउनको झरीसँगै पाँच नेपाली फिल्म हलमा आए भने ‘गौंथली’ले बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गर्दै पाँचौँ सातासम्म आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेको छ।

‘गौंथली’ले २१ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको अवस्थामा ‘कमला मिस’, ‘हली’ र ‘शक्ति’ले भने अपेक्षाअनुसार दर्शक तान्न सकेनन्। गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘लज्जावती’को व्यापारिक अवस्था भने केही समयपछि मात्रै स्पष्ट हुने देखिन्छ।

साउनको तुलनामा भदौ नेपाली फिल्मका लागि अझ प्रतिस्पर्धात्मक बन्ने भएको छ। भदौ महिनामा मात्रै ‘मास्टर्नी’, ‘पार्वती’, ‘बाः एक योद्धा’, ‘ककाकिकी’, ‘माया भनेकै यस्तै होला’, ‘अक्षरा’, ‘पेन्सनपट्टा’ र ‘बेहुली’ गरी ८ वटा नेपाली फिल्म प्रदर्शनमा आउँदैछन्।

रिलिज क्यालेन्डर हेर्दा भदौको प्रत्येक शुक्रबार नेपाली फिल्मले दर्शकको परीक्षा लिनेछन्। तर सबैभन्दा बढी चासो भदौ २६ गतेमा देखिएको छ। उक्त दिन मात्रै चार फिल्म—‘माया भनेकै यस्तै होला’, ‘अक्षरा’, ‘पेन्सनपट्टा’ र ‘बेहुली’—एकैपटक हलमा आउँदैछन्।

यसले नेपाली फिल्म उद्योगलाई चलायमान बनाउने देखिए पनि हलमा शो बाँडफाँट, दर्शकको छनोट र व्यापारिक परिणामका दृष्टिले चार फिल्मको एकैदिनको भिडन्त चुनौतीपूर्ण बन्ने देखिन्छ।

भदौमा प्रदर्शन हुने फिल्मका कथावस्तु पनि विविध छन्। आमाको ममता, बाबुको संघर्ष, अटिजम, घरेलु हिंसा, प्रेम, विवाह, धोका तथा लाहुरे समाजको जीवनजस्ता विषयलाई पर्दामा उतारिएका कारण दर्शकका लागि पनि यो महिना विशेष बन्ने देखिन्छ।

अब प्रश्न एउटै छ—भदौको फिल्मी महासंग्राममा दर्शकको मन कसले जित्ला?

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय