काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा ३ अर्ब ७७ करोड रुपैयाँमात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार साउन २०८३ मा कुल १ सय ९१ उद्योग–आयोजनामा उक्त लगानी प्रतिबद्धता आएको हो । गत आव २०८२/८३ पहिलो महिना २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो । त्यसको तुलनामा चालु आवमा लगानी प्रतिबद्धता ह्वात्तै घटेको हो ।
गत आव १ सय २७ परियोजनामा उक्त लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष नेपालबाट चीनमा भैँसीको मासु निर्यात गर्ने कम्पनी ‘प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री’ का लागि सबैभन्दा ठूलो लगानी प्रतिबद्धता आएको थियो ।
एउटै परियोजनामा २० अर्ब ४५ करोडको प्रतिबद्धता गत आवमा आएको थियो । चालु आव भने ठूलो लगानी प्रतिबद्धता एउटा उद्योगमा मात्र आएको छ । मध्यमस्तरीय उद्योग २ र अन्य सानो लगानीका उद्योगमा लगानी प्रतिबद्धता आएको हो ।
यस वर्ष अटोमेटिक रुटबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । सरकारले अटोमेटिक रुटबाट आउने लगानीको माथिल्लो सीमा हटाएसँगै एफडीआई स्वीकृतिमा अटोमेटिक रुटबाट लगानी स्वीकृति बढेको हो ।
आईटी परियोजना धेरै, रकम पर्यटनमा अधिक
यस वर्ष पहिलो महिना स्वीकृत एफडीआईमध्ये संख्यात्मक हिसाबमा सूचना प्रविधि (आईटी) को बाहुल्य छ । साउनमा कुल १ सय २८ उद्योग आईटीमा दर्ता भएका छन् । आईटीमा ५६ करोड ९८ लाख रुपैयाँमात्र एफडीआई प्रतिबद्धता आएको छ ।
संख्यात्मक हिसाबमा पर्यटन दोस्रो स्थानमा छ । पर्यटनका ३३ उद्योग दर्ता भएका छन् । जसमा कुल १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
तेस्रो स्थानमा सेवामूलक उद्योग छन् । कुल १९ उद्योग दर्ता भई ६८ करोड २० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । चौथो स्थानमा उत्पादनमूलक उद्योग दर्ता भएको देखिन्छ । कुल ९ परियोजना दर्ता भएकोमा ८४ करोड ३२ लाख रुपैयाँ बराबर लगानी प्रतिवद्धता आएको छ ।
यसबाहेक कृषि र ऊर्जामा १/१ उद्योग दर्ता भएका छन् । जसको लगानी प्रतिबद्धता समान २/२ करोड छ ।






