काठमाडौँः कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) नेत्री सावित्रा सापकोटाको मृत्यु भएको छ । सोमबार बिहान बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिक ट्रकले स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य सापकोटा मुडास्थित घरमा पूजाआजा सकेर बौनियातर्फ जाँदै हुनुहुन्थ्यो । आफ्नो लेनमा स्कुटर चलाइरहेका बेला ट्रकले ठक्कर दिएको वडाध्यक्ष मिठुन गौतमले जानकारी दिनुभयो । प्रहरीका अनुसार से १–०१–००१ ख नम्बरको स्कुटरलाई लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुखडले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवार बन्नुभएको थियो ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय