कोशी प्रदेशसभाको रोष्ट्रममा जब गोम्बु शेर्पा उभिएर बोल्न थाल्थे, तब सदनको माहोल अन्य सांसदको भन्दा भिन्न हुन्थ्यो । परम्परागत राजनीतिक भाषणभन्दा फरक शैलीमा गीत र व्यंग्यमार्फत जनआवाज मुखरित गर्ने उनै ‘गीताङ्गे माननीय’ अब प्रदेशको शान्ति सुरक्षा र कानून निर्माणको कमाण्ड सम्हाल्ने गरी मन्त्री बनेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा पुनर्गठित सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी पाएका छन् । सोलुखुम्बुको विकट गाउँबाट सुरु भएको उनको राजनीतिक यात्रा अहिले प्रदेशको राजकाजसम्म आइपुगेको छ ।२०३७ साल फाल्गुन २८ गते सोलुखुम्बुको सोताङ गाउँपालिका–२ (साविक पावै गाविस) को जुके गाउँमा जन्मिएका गोम्बुको बाल्यकाल पहाडी संघर्षमै बित्यो । बुबा लाक्पा शेर्पा र आमा पेम्बा रिन्जी शेर्पाका सन्तान गोम्बुमा राजनीतिको बीउ कक्षा ५ मा पढ्दा नै रोपिएको थियो । उनका शिक्षक हिरामान राईको प्रशिक्षण र प्रभावले उनलाई सानै उमेरमा वामपन्थी विचारधारातर्फ आकर्षित गर्‍यो ।

औपचारिक रूपमा भने २०५३ सालमा १७ वर्षको उमेरमा सगरमाथा मावि बुङको अनेरास्ववियु इकाइ सदस्य बनेर उनले विद्यार्थी राजनीति सुरु गरे । २०५४ सालमा इकाइ उपाध्यक्ष हुँदै इलाका सदस्य बनेका उनी उच्च शिक्षाका लागि भक्तपुरको सानोठिमी क्याम्पस पुगेपछि थप सक्रिय भए ।पढाइका क्रममा २०५८ सालमा अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पसको सचिव बनेका गोम्बुले संकटकालको कठोर समयको सामना गरे । सोही वर्ष भदौमा क्याम्पसको होस्टेलबाटै गिरफ्तार भई उनी चार दिन हिरासतमा परे । तर, दमनले उनको जोसलाई झन् बढायो । २०५९ सालमा पुनः गिरफ्तार भई उनले १० महिना काठमाडौंको केन्द्रीय कारागारमा राजनीतिक बन्दीका रूपमा बिताए ।

२०६० वैशाखमा जेलमुक्त भएपछि उनी नेकपा (माओवादी) को संगठित सदस्य बने । सशस्त्र विद्रोहका क्रममा उनले हतियार मात्र बोकेनन्, विचारको मोर्चा पनि सम्हाले । २०६० देखि २०६२ सम्म उनले माओवादीद्वारा सञ्चालित ‘रेडियो जनगणतन्त्र पूर्वी प्रसारण सेवा’मा समाचार लेखक, वाचक र कार्यक्रम प्रस्तोताका रूपमा काम गरे । सोही अनुभवले नै उनलाई जनताका मुद्दामा स्पष्ट र प्रभावकारी रूपमा बोल्ने सीप दियो ।

२०६२ सालमा सोलुखुम्बुको जिल्ला सेक्रेटरी बनेका गोम्बु २०६४ सालमा जिल्ला सह–इन्चार्ज र २०६८ मा इन्चार्ज बने । २०६५ सालमा तत्कालीन मन्त्री गोपाल किरातीको स्वकीय सचिव र पर्वतीय प्रशिक्षण विकास समितिको अध्यक्ष बनेर उनले प्रशासनिक अनुभव पनि बटुले ।

संसदीय राजनीतिमा उनको प्रवेश संघर्षपूर्ण रह्यो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवार बने पनि उनी पराजित भए । तर, उनले हार मानेनन् । पार्टी संगठन निर्माणमा निरन्तर लागिरहे । माओवादी केन्द्रको जिल्ला अध्यक्ष र संयोजकको भूमिका कुशलतापूर्वक निभाउँदै उनी २०७९ सालमा केन्द्रीय सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

प्रदेशसभामा गोम्बु शेर्पाको परिचय एउटा गम्भीर राजनीतिज्ञको मात्र होइन, एउटा गीतकारको पनि छ । १३३ वटा बैठक मध्ये १२६ वटामा सहभागी हुने उनी प्रदेशसभाका सबैभन्दा सक्रिय सांसदमध्ये एक हुन् ।

संसदमा जनसरोकारका मुद्दा उठाउँदा गीत गाउने उनको मौलिक शैलीले उनलाई ‘गीताङ्गे माननीय’को उपनाम दियो । भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध उनले गीतकै माध्यमबाट सरकारलाई झक्झकाउने गर्दथे ।
संसदको कुर्सीबाट सरकारलाई प्रश्न गर्ने र गीतबाट व्यंग्य गर्ने गोम्बु शेर्पा आज आफैँ सरकारको महत्त्वपूर्ण पदमा पुगेका छन् ।

श्रीमती तारा राई र छोरा ङिमादेण्डी शेर्पासहितको पारिवारिक सहयोगमा राजनीतिक उचाइ चुमेका गोम्बुलाई अब आफ्ना गीतमा उठाइएका जनचाहनालाई कानून र नीतिमा ढाल्नुपर्ने चुनौती छ । अब मन्त्रीको भूमिकामा उनले कस्तो प्रदर्शन गर्ने हुन् र आफ्ना चुनावी प्रतिबद्धता कसरी कार्यान्वयन गर्ने हुन्, त्यो भने हेर्न बाँकी छ । तर, सोलुखुम्बुको जुके गाउँबाट सुरु भएको एक विद्रोहीको यात्रा आज कोशी प्रदेशको नीति निर्माणको केन्द्रमा भने पुगिसकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय