काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्थापनाको ४१ औँ वर्ष प्रवेशको अवसरमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धि र भावी कार्यदिशा प्रस्तुत गरेको छ ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार नेपालको विद्युत् क्षेत्रमा उत्पादन, प्रसारण र वितरणतर्फ महत्त्वपूर्ण प्रगति भएको छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार १ सय २० मेगावाट पुगेको छ । यसै आर्थिक वर्षमा मात्र ५ सय २९ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएको छ ।
प्राधिकरणका ग्राहकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ३.८५ प्रतिशतले वृद्धि भई ५९ लाख २७ हजार पुगेको छ । कुल ग्राहक संख्यामध्ये घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत र औद्योगिक ग्राहकको हिस्सा १।२० प्रतिशत रहेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् विक्री र अन्य आम्दानीबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत् विक्रीबाट मात्र प्राप्त आय अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
चुहावट नियन्त्रण र विद्युत् निर्यातमा भएको वृद्धिका कारण प्राधिकरणको कुल नाफा अघिल्लो वर्षको तुलनामा १३.७० प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २४ अर्ब ८१ करोड रहेको छ । यद्यपि, विदेशी विनिमय दरमा भएको वृद्धि, ह्रासकट्टी र ब्याज खर्चका कारण करअघिको खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँ कायम भएको प्राधिकरणले जनाएको छ । वैदेशिक विनिमय दरको वृद्धिले संस्थाको दायित्व अघिल्लो वर्षको तुलनामा २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड पुगेको छ ।
गत आर्थिक वर्षमा १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ भने ४० मेगावाटको राहुघाट आयोजना परीक्षणको चरणमा छ । प्रसारणतर्फ कोहलपुर–सुर्खेत लाइन निर्माण सम्पन्न भएसँगै कर्णाली प्रदेश पहिलो पटक १३२ केभी प्रसारण सञ्जालमा जोडिएको छ ।
यसैगरी खिम्ती–बाह्रबिसे ४०० केभी र मर्स्याङ्दी–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएका छन् । हेटौँडा–ढल्केबर ४०० केभी लाइन आगामी कात्तिकसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल देशभर उच्च भोल्टेज प्रसारण लाइनको लम्बाई ७ हजार १ सय १० सर्किट किलोमिटर र सबस्टेसनको क्षमता १५ हजार ५ सय ४१ एमभीए पुगेको छ । वितरणतर्फ काठमाडौं, भरतपुर र पोखरामा भूमिगत वितरण प्रणालीको कार्य भइरहेको छ ।
गत वर्ष निजी क्षेत्रका २३ आयोजनाबाट ५ सय २८.८९ मेगावाट विद्युत् थपिएको छ । हाल १२ हजार १ सय ३५ मेगावाट क्षमताका ५ सय ४५ आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । विद्युत् व्यापारतर्फ नेपालले १० अर्ब ५६ करोड रुपैयाँको विद्युत् आयात गर्दा २९ अर्ब ३१ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ ।
निर्यात अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशतले बढेको हो । भारतसँगको विद्युत् व्यापारलाई थप सहज बनाउन बुटवल–गोरखपुर र ढल्केबर–मुजफ्फरपुर जस्ता अन्तरदेशीय प्रसारण लाइनका सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू भएका छन् । नेपाल सरकारको सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने लक्ष्यलाई सघाउन प्राधिकरणले ठुला जलाशययुक्त आयोजना, पम्प स्टोरेज र सौर्य ऊर्जालाई प्राथमिकता दिने बताएको छ । यसै वर्ष बुटवल–गोरखपुर ४०० केभी लाइन सञ्चालनमा ल्याइने र चिलिमे–केरुङ लाइनको निर्माण सुरु गरिने प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरणले अबको सेवालाई ‘डिजिटल रूपान्तरण’ गर्ने लक्ष्य लिएको छ । यसका लागि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित डाटा सेन्टर, एआई च्याटबट र स्मार्ट मिटर जडान कार्यलाई तीव्रता दिइनेछ । साथै, हरित हाइड्रोजनमार्फत आन्तरिक खपत बढाउन हेटौँडामा इलेक्ट्रोलाइजर स्थापना गरी हरित एमोनिया र मिथानोल विकास गर्ने योजना अघि बढाइएको छ ।






