जापानको आइची नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने २०औं एसियन गेम्समा नेपालबाट ६ खेलाडीले एथ्लेटिक्समा प्रतिस्पर्धा गर्नेछन् ।

त्यसका लागि नेपाली एथ्लेटिक्स खेलाडीहरू अहिले दैनिक दुई पटक दशरथ रंगशालमा प्रशिक्षण गरिरहेका छन् ।

एसियन गेम्समा नेपालबाट पुरुषतर्फ (४) सोम बहादुर कुमाल, मुकेश बहादुर पाल, राजन रोकाय र खड्क बहादुर खड्का छन् भने महिलातर्फ (२) सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने सहभागी हुनेछन् ।

सन्तोषी श्रेष्ठ र सोम बहादुर कुमालसँग विगतमा पनि एसियन गेम्स खेलिसकेको अनुभव छ भने बाँकी खेलाडी पहिलो पटक एसियन गेम्समा सहभागिता जनाउने तयारीमा छन् । सोमको यो तेस्रो एसियन गेम्स हुनेछ ।

राजन, खड्क, पूर्ण कुमारी र मुकेशको लागि भने यो पहिलो एसियन गेम्स सहभागिता हुनेछ ।

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियन गेम्समै नेपालको एथ्लेटिक्स खेलाडी सहभागी भएका थिए । त्यसयता निरन्तर जसो एथ्लेटिक्सका खेलाडीहरू एसियन गेम्स खेल्न गएपनि अहिलेसम्म कुनै पनि पदक जित्न सकेको छैन ।

एथ्लेटिक्सको एसियन च्याम्पियन्सिप, एसियन युथ च्याम्पियनसिप र एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपाली धावकहरूले पदक जितेपनि एसियाकै खेलाडीले प्रतिस्पर्धा गर्ने एसियन गेम्समा भने नेपाल पदकको नजिक पुग्न सकेको छैन ।

तर नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन खेल एथ्लेटिक्स नै हो । सन् १९७३ मा सुरु भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थिए ।

त्यतिबेला कास्य पदक जितेका उनले १९७५ मा पनि त्यो उपलब्धिलाई दोहोर्‍याए । यस्तै अजितकुमार यादवले २०१९ मा भएको तेस्रो एसियन युथ एथ्लेटिक्समा ऐतिहासिक स्वर्ण जितेका थिए भने सन् २०२२ मा काठमाडौंमै भएको एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालका दिपक अधिकारीले ऐतिहासिक स्वर्ण जित्दा अन्य खेलाडीले विभिन्न पदक जिते ।

२०औं एसियन गेम्समा खेल्ने ६ एथ्लेटिक्स खेलाडी र उनीहरूको बारेमा जानकारी यस्तो छ ।

बैकुण्ठ मानन्धरको रेकर्ड तोड्ने लक्ष्यमा खड्क

नेपाली सेनाका म्याराथन धावक खड्क बहादुर खड्का अहिले नेपालमा भएका म्याराथनका उत्कृष्ट खेलाडी हुन् । उनको मुख्य विधा नै म्याराथन भएकोले यसमै केन्द्रित भएर दौडिँदै आएका छन् ।

खड्कले पहिलो पटक एसियन गेम्स खेल्न लागेका हुन् र यसमा उनी निकै उत्साहित पनि छन् । ‘पहिलो पटक एसियन गेम्समा सहभागी हुँदैछु । खुशी लागेको छ । उत्साहित पनि छु । सबैले सहयोग गरिरहनुभएको छ’ उनले भनेका छन् ।

खड्कले २०औं एसियन गेम्समा पुरुष म्यारथनमा प्रतिस्पर्धा गर्नेछन् । उनको एक मात्र लक्ष्य भनेको करिब ४ दशक पुरानो बैकुण्ठ मानन्धरको कीर्तिमान ब्रेक गर्नु हो । मानन्धरले सन् १९८७ मा भारको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

म्याराथनमा धेरैले मानन्धरको कीर्तिमान तोड्ने प्रयास गरेपनि सकेनन् । अहिले खड्क त्यसको नजिक छन् र उनी एसियन गेम्समा त्यो उपलब्धि हासिल गर्न चाहन्छन् ।

‘बैकुण्ठ मानन्धरको उपलब्धिले गर्दा अहिले हामी त्यो समयलाई पछ्याइरहेका छौं । उहाँलाई आभार व्यक्त गर्न चाहन्छु । उहाँले तिमीहरू नजिक पुगेका छौं राम्रो गर भनेर आशीर्वाद पनि दिनुहुन्छ । मिहिनेत गर्दै जाँदा अम्भव भन्ने छैन जस्तो लाग्छ । मैले २ घण्टा १८ मिनेटबाट घटाएर अहिले २ घण्टा १५ मिनेटसम्म झारेको छु । नजिक नजिक पुगेको छु’ उनले भने, ‘त्यहाँको मौसम, स्वास्थ्यदेखि हरेक कुराले साथ दियो भने कीर्तिमान तोड्न सकिन्छ भन्ने लागेको छ । काठमाडौंमा अलि चिसो हुँदै जान्छ । एक्कासी गएर त्यहाँ खेल्दा गाह्रो हुन्छ कि भन्ने छ । त्यहाँ गएपछि थाहा हुन्छ ।’

१९औं एसियन गेम्समा म्याराथनमा कांस्य जित्नेले ३ घण्टा १३ मिनेट ३९ सेकेण्डमा दौड पूरा गरेका थिए ।

एसियन गेम्समा खेल्नु पनि ठूलो उपलब्धि भएको खड्कले बताए । ‘एसियन गेम्स भनेको एसिया लेभलको अफिसियल गेम हो । त्यसमा सहभागी हुनु नै ठूलो कुरा हो । त्यहा राम्रो गर्नु भनेको आफ्नो लागिर देशकै लागि ठूलो हो ।’

जाजरकोट स्थायी घर भएका खड्कले सुरुमा दौड बारे खासै बुझेका थिएनन् । उनले नेपाली सेनामा आबद्ध भएको धेरै पछि मात्रै दौडबारे बुझेर सिधै म्याराथनमा लागेका हुन् ।

‘खासमा म पहिला सिपाही पछि खेलाडी हो । अरु खेलाडीहरू पहिला खेलाडी पछि जागिरे भएकाहरू पनि छन् । म त्यो होइन । म ११ वर्ष सिपाही अनुभव गरेर पछि मात्र गेमतिर प्रवेश गरेको हो’ खडकले भने, ‘दौड भनेको गेम भन्ने पनि मलाई थाहा थिएन । नेपाली सेनाबाट साथ सहयोग पाएँ । दैनिक पिटी परेड देखि लिएर गेमहरू हुन्थ्यो । ११ वर्ष भयो दौडमा लागेको ।’

उनले अरु कुनै इभेन्ट नखेलेको आफूले सिधै म्याराथन रोजेर खेलेको बताए ।

आउने पुस्तालाई प्रेरणा दिने लक्ष्यमा सन्तोषी

सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण जितेपछि गोल्डेन गर्लको उपनामले चिनिँदै आएकी सन्तोषी श्रेष्ठले पछिल्लो समय भने लगातार राष्ट्रिय कीर्तिमान बनाउँदै आएकी छिन् ।

कुनै पनि विभागमा नरहेर पनि सन्तोषीले उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । उनले महिला म्याराथन हाफ म्याराथन देखि मध्यम गतिको दूरीमा पनि राष्ट्रिय कीर्तिमान बनाइसकेकी छिन् ।

लगातार दोस्रो पटक एसियन गेम्स खेल्ने तयारीमा रहेकी सन्तोषीले आइची नागोयामा पनि दुई विधामा प्रतिस्पर्धा गर्नेछिन् ।

उनले महिला ५ हजार र १० हजार मिटरमा दौडनेछिन् । दुवै विधामा राष्ट्रिय कीर्तिमान पनि सन्तोषीकै नाममा छ ।

सन्तोषीको महिला ५ हजार मिटरमा १६ मिनेट ३६.६१ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ । यस्तै १० हजार मिटरमा पनि उनकै ३४ मिनेट ४७.७७ सेकेण्डको कीर्तिमान छ ।

सन्तोषी दुवै इभेन्टका लागि तयार छिन् । तर दुई इभेन्ट खेल्दा केही तनाव पनि हुने उनको बुझाइ छ । ‘दुई इभेन्ट मै खेल्दा अलि तनाव त हुन्छ । किनभने आफूले फोकस गरेको इभेन्ट पछि भयो भने तनाव हुन्छ । तर प्रशिक्षण दुवैको लागि एउटै हो । गेमको बेला चाहिँ प्रेसर ह्यान्डल गर्नुपर्छ’ उनी भन्छिन् ।

एथ्लेटिक्स अन्य खेल भन्दा फरक रहेको र यसमा धेरै प्रतिस्पर्धा हुने सन्तोषीले बताइन् । २०औं एसियन गेम्समा उनले आफूले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने सुनाइन् । एसियन गेम्समा पदक जित्न कठिन हुने भएपनि आफूले पदकका लागि प्रयास गर्ने र आउने पुस्ताका लागि मार्ग बनाउने बताइन् ।

‘हामीले आफ्नो बेस्ट दिने हो । त्यसमा राष्ट्रिय कीर्तिमान बन्छ वा व्यक्तिगत उत्कृष्ट प्रदर्शन हुन्छ अहिले थाहा हुँदैन । मेडलका लागि रियालिस्टक भएर सोच्छुपर्छ । ग्याप त छ तर हामी कडा मिहिनेत गरिरहेका छौं । अहिले ग्याप चाहिँ धेरै कम भएको छ । हामीले रेकर्डहरू ब्रेक गर्‍यौं भन्यो आउने पुस्ताका लागि बाटो बनाउन सकिन्छ’ सन्तोषी भन्छिन्, ‘अहिले जित्न पाए हुन्छ भन्ने हो । आफूले आफूलाई जित्नेछौं । हाम्रो रिजल्ट ओरिएन्टेड हो मेडल भन्दा पनि पनि । एथ्लेटिक्समा मेडल चाहिन्छ । तर हामि मेडलका लागि कोसिस चाही गर्छौं ।’

मुकेश पालको लक्ष्य राष्ट्रिय कीर्तिमान

मध्यम गतिका धावक मुकेश बहादुर पालले वर्ल्ड च्याम्पियनसिप देखि एसियन च्याम्पियनसिप लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिइसकेका छन् । उनी पनि नेपाली सेनाकै धावक हुन् ।

घरेलु प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मुकेशले २०औं एसियन गेम्समा दुई इभेन्टमा चुनौती दिनेछन् । उनले पुरुष १५०० र ५ हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो पटक एसियन गेम्स खेल्ने तयारीमा रहेका मुकेशल निकै उत्साहित छन् र केही गरेर देखाउने जोश उनमा छ । ‘मैले वर्ल्ड, साउथ एसियन, एसियन च्याम्पियनसिप सबै खेलिसकें, एसियन गेम्स पहिलो पटक हो । पहिलो पटक खेल्दा उत्साहित पनि छु र राम्रो गर्छु भन्ने लक्ष्य छ । मेरोतर्फबाट राम्रो गर्ने कोसिस गर्नेछु, उनी भन्छन्, ‘सरकारले हामी माथि लगानी गरे अनुसार रगत पसिना बगाइरहेका छौं । देशलाई एउटा मेडल दिने कोसिस प्रयास हुनेछ तर मेडल दिन नसकेपनि नेपाली खेलाडीले यति गर्‍यो यति गर्न सक्यो भन्ने विश्वसामु चिनाउन म चाहन्छु । तयारी राम्रो गरिराछु त्यसकै लागि लडिरहेको छु र मिहिनेत गरिरहेको छु ।’

मुकेशको मुख्य लक्ष्य राष्ट्रिय कीर्तिमान ब्रेक गर्नु र सकेसम्म पदकका लागि प्रयास गर्नु हो । उनी आफ्नो लक्ष्यमा दृढ छन् ।

मेरो दुई इभेन्ट छ । १५०० मिटरमा धेरै समयदेखि नेसनल रेकर्ड गर्न खोजिरहेको छु । मेले त्यसका लागि निकै मिहिनेत र दु:ख गरिरहेको छु । नजिक नजिक पुगिरहेको छु । यसपालि पनि मैले रेकर्ड ब्रेक गर्छु भन्ने अठोट छ’ मुकेशलले अनलाइनखबरसँग भने, ‘५००० मिटरमा पनि नेसनल रेकर्ड ब्रेक गर्ने लक्ष्य छ ।’

१५०० मिटरमा अहिले राष्ट्रिय कीर्तिमान बनाउन सके आगामी दिनमा नेपाली खेलाडीहरू पनि यसमा पदकको नजिक पुग्ने सक्ने मुकेशको विश्वास छ । ‘१५०० रेकर्ड ब्रेक गर्न सक्यो भने एसियन गेम्सको आउने खेलहरूमा पदकको सम्भावना हुन्छ । त्यही अनुसार मेले मिहिनेत गरिरहेको छु ।’

पुरुष ५ हजार मिटरमा राष्ट्रिय कीर्तिमान राजेन्द्र भण्डारीको नाममा छ । उनले २००४ मा एथेन्ज ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

यस्तै १५०० मिटर गोप बहादुर अधिकारीले १९९३ को दक्षिण एसियाली खेलकुदमा ३ मिनेट ४६.६३ सेकेण्डको कीर्तिमान बनाएका थिए । ३३ वर्षसम्म कसैले तोड्न सकेका छैनन् । मुकेशले अहिले ३ मिनेट ४९ सेकेण्डको समय निकालिरहेका छन् ।

राजन रोकाय १० हजार मिटरमा केन्द्रित

राजन रोकाय पनि नेपाली सेनाकै धावक हुन् । नेपाल भित्र हुने विभिन्न एथ्लेटिक्स प्रतियोगितामा उनी विशेषगरी म्याराथनमा प्रतिस्पर्धा गर्छन् । मध्यम दूरीमा पनि उनी दौडिन्छन् । २०औं एसियन गेम्समा उनले पनि दुई फरक विधा म्याराथन र १० हजार मिटरमा सहभागी हुनेछन् ।

म्याराथन विशेष विधा भएपनि खडक बहादुर म्याराथनको मुख्य खेलाडी हुँदा अहिले राज भने १० हजार मिटरमा बढी केन्द्रित छन् ।

यसअघि १९औं एसियन गेम्समा नेपाली सेनाकै दिपक अधिकारीले १० हजार मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । यस पटक दिपक छैनन् भने राजनले त्यो इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । राजनले १९औं एसियन गेम्समा म्याराथनमा दौडेका थिए ।

राजन आफैंपनि १० हजार मिटरमा मुख्य केन्द्रित हुने बताउँछन् । ‘मेरो दुई इभेन्ट छ १० किमी र म्याराथन । मेरो फोकस १० किमीमै हुनेछ छ । म्याराथन पनि खेल्छु होला’ उनले भनेका छन् ।

म्यारथनबाट १० किमीमा झर्नुपर्ने भएकोले यसमा अलि मिहिनेत गर्नुपर्ने राजन बताउँछन् । ‘म म्याराथनको मान्छे भएकोले १० किमीमा ढाल्न अली मिहितन गर्नुपर्छ । अलि संघर्ष गर्नुपर्छ । यद्यपी अहिले क्लोज क्याममा स्पिड धेरै राम्रो भइराछ । कोच, राखेप, संघ लगायतले सबैले सहयोग गर्नुभएको छ ।’

राजनले एसियन गेम्समा आफ्नो लक्ष्य यही भने ठोकुवा गर्ने भन्दा पनि प्रशिक्षण अनुसार उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘लक्ष्य अहिले नै भनिहाल्न सकिँदैन । ९५ प्रतिशत आफ्नो मिहिनेत हो र ५ प्रतिशत भाग्य हो । दौड सुरु भएर रिवनसम्म नपुगेसम्म भन्न सकिन्‍न’ उनले भने, ‘अहिले नै यही हुन्छ भन्न सकिन्न तर ट्रेनिङ गरे अनुसार रिजल्ट राम्रो आउँछ भन्ने आशा छ र म एकदम उत्साहित छु ।’

पुरुषको १० हजार मिटरमा दिपक अधिकारीले हान्झाउ एसियन गेम्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनले २९ मिनेट ३५.०६ सेकेण्ड समय निकालेका थिए ।

पूर्णलक्ष्मीको प्राथमकिता १५०० मिटर

नेपाली सेनाकै अर्की खेलाडी पूर्णलक्ष्मी न्यौपाने पनि पहिलो पटक एसियन गेम्समा सहभागिता जनाउने तयारीमा छिन् । सन्तोषीले जस्तै उनले पनि महिला तर्फ दुई इभेन्टमा दौडनेछिन् ।

न्यौपानेले १५०० र ५००० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । ५००० मिटरमा सन्तोषी पनि दौडनेछिन् भने यस इभेन्टको राष्ट्रिय कीर्तिमान पनि सन्तोषीकै नाममा छ । पूर्णलक्ष्मीको प्राथमिकता १५०० मिटरमा बढी छ । १५०० मिटरमा राष्ट्रिय कीर्तिमान छुने लक्ष्यमा उनी छिन् ।

महिला १५०० मा राष्ट्रिय कीर्तिमान सरस्वती भट्टराईको नाममा छ । उनले रियो ओलम्पिक गेम्मा ४ मिनेट ३३.९४ सेकेण्डको समयसहित कीर्तिमान बनाएकी थिइन् ।

सोमको ८०० मिटरमा दाबेदारी

सोम अन्तर्राष्ट्रिय खेलकुदमा अनुभवी खेलाडी हुन् । उनले एसियन गेम्स देखि विभिन्न अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

यस पटक उनले एक मात्र इभेन्ट (८०० मिटर) मा प्रतिस्पर्धा गर्दैछन् । यसअघि १९औं एसियन गेम्समा उनले ४०० र ८०० मिटर दुई इभेन्टमा भाग लिएका थिए ।

सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको १८औं एसियन गेम्समा उनले ८०० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । तर १९औं संस्करणमा उनी आफ्नै कीर्तिमान सुधार गर्नबाट थोरैले चुके ।

इन्डोनेसियामा उनले १ मिनेट ५०.२५ सेकेण्डमा ८०० मिटर दूरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । चीनको हान्झाउमा भएको १९औं संस्करणमा उनले १ मिनेट ५०.३८ सेकेण्ड समय लगाए ।

यस पटक एक इभेन्टमा मात्र केन्द्रित रहेका सोमले राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेका छन् । साथै सोमको टाइमिङ पछिल्लो समय कांस्य पदक जित्ने खेलाडीसँग पनि निकै नजिक रहेको छ ।

८०० मिटरमा सोम बहादुर कुमालले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गम्समा १ मिनेट ५०.२५ सेकेण्डको कीर्तिमान बनाएका थिए । अहिले कुमालले प्रशिक्षणमा १ मिनेट ४९ सेकेण्ड हाराहारी समय निकालिरहेका छन् ।

पछिल्लो पटक कांस्य पदक जित्नेले १ मिनेट ४८.५१ सेकेण्ड समय निकालेका थिए । अहिलेकै अवस्थामा सुधार गर्दै गएर सोले राष्ट्रिय कीर्तिमानसहित पदकको नजिक पुग्न सक्ने एथ्लेटिक्स संघका सचिव आरके विष्ट बताउँछन् ।

कस्तो छ तयारी ?

२०औं एसियन गेम्सका लागि अहिले एथ्लेटिक्सका ६ खेलाडी दैनिक दुई पटक दशरथ रंगशालमा प्रशिक्षण गरिरहेका छन् । उनीहरूलाई प्रशिक्षक उत्तम खत्रीले प्रशिक्षण दिइरहेका छन् ।

३ वर्षदेखि मिसन २०२६ अन्तर्गत तयारी गरिरहेका एथ्लेटिक्स खेलाडीहरू अहिले अन्य खेलाडीसँगै क्लोज क्याम्पमै बसेर तयारी गरिरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद, नेपाल एथ्लेटिक्स संघ लगायत सबैले प्रशिक्षणका लागि राम्रो व्यवस्थापन गरिरहेको र प्रशिक्षण राम्रो भइरहेको खेलाडीहरूको भनाइ छ ।

अन्य खेल भन्दा एथ्लेटिक्स फरक खेल भएकोले टाइमिङमा केन्द्रित भएर खेलाडीहरू तयारी गरिरहेका छन् । उनीहरू आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा छन् ।

नेपाली खेलाडीको टाइमिङ र पछिल्लो पटक एसियन गेम्समा कांस्य पदक जितेका खेलाडीको टाइमिङलाई क्याल्कुलेसन गर्दै खेलाडीलाई तयारी गराइरहेको नेपाल एथ्लेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिए ।

यस्तै नेपाली खेलाडीहरू भारतमा यही अगष्ट २२ देखि सुरु हुने इन्डियन ओपन वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर सिल्भर लेभलमा पनि प्रतिस्पर्धा गर्न जाँदैछन् । त्यसमा कति जना जाने टुङ्गो भइसकेको छैन । तर अहिले एसियन गेम्स तयारीमा रहेका खेलाडीहरू र अन्य केही खेलाडी थपिने विष्टले जानकारी दिए ।

‘कति जना जाने भनेर छलफल भइरहेको छ । एसियन गेम्सको क्याम्पमा परेका खेलाडी र अर्को एक जना मात्र हुने सम्भावना छ’ एथ्लेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिए ।

२०औं एसियन गेम्समा दौडने नेपाली एथ्लेटिक्स खेलाडी र विधा

सोम बहादुर कुमाल (पुरुष) – ८०० मिटर

मुकेश बहादुर पाल (पुरुष) – १५०० र ५००० मिटर

राजन रोकाय (पुरुष) – १०००० मिटर र म्याराथन

खड्क बहादुर खड्का (पुरुष) – म्याराथन

सन्तोषी श्रेष्ठ (महिला) – ५००० र १०००० मिटर

पुर्णलक्ष्मी न्यौपाने (महिला) – १५०० र ५००० मिटर

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय