काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन्।

मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवाले आइतबार इतर समूहद्वारा आयोजित भेलालाई समापन गर्ने क्रममा ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए। सो भेलाले संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षपोषण हुने गरी निर्णयसमेत गरेको थियो।

देउवाको अभिव्यक्ति र कांग्रेस इतर समूहको पाँचबुँदे निर्णयतर्फ इङ्गित गर्दै प्रचण्डले संविधानविरोधी गतिविधि र अभिव्यक्ति नदिन सचेत गराएको जानकारी पार्टी नेता हिमाल शर्माले दिए। बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’

सम्बोधनका क्रममा संयोजक प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र व्यवस्थाविपरीत अगाडि बढेको आरोप लगाउँदै सडक आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई अपिल गरे। वर्तमान सरकार बनेपछि बेथिति र भ्रष्टाचार बढेको तथा मिडियामाथि प्रहार गरेर आवाज दबाउने काम भइरहेको उनको आरोप थियो।

‘रास्वपाको सरकार बनेपछि बेथिति धेरै बढे, हामीले आवश्यकताभन्दा बढी प्रिभिलेज दियौँ। भ्रष्टाचार बढ्दै गयो, मिडियाको मुख थुन्ने काम भयो,’ प्रचण्डले भने, ‘यसका विरुद्ध अब बोल्नुपर्छ, नत्र गणतन्त्रमाथि नै प्रहार हुन सक्छ। हामी छिट्टै आन्दोलनको अपिल गर्छौँ, यसमा सबैको सहयोग चाहिन्छ। तपाईंहरू सबै तयारी अवस्थामा बस्नुहोस्।’

यसैबिच, नेकपा (एमाले) सँग भएको तीनबुँदे सहमतिले वामपन्थीहरूबीच सहकार्यको ढोका खोले पनि केपी शर्मा ओलीको प्रवृत्ति यथावत् रहेसम्म तत्काल पार्टी एकता सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे।

उनले अगाडि भने, ‘एमालेसँग भएको तीनबुँदे सहमतिले सहकार्यको ढोका खुलेको छ। तर, उहाँ (ओली) को प्रवृत्ति नहटेसम्म एकता हुँदैन। हामी दीर्घकालीन रूपमा एकता गर्ने पक्षमै छौँ। कसैलाई मन परे पनि नपरे पनि अहिलेलाई सहमति कार्यान्वयन गरेर जानुको विकल्प छैन।’

बैठकमा पार्टीका सहसंयोजक माधवकुमार नेपालले देश गम्भीर मोडमा रहेकाले लोकतान्त्रिक–गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले एमालेसँग भएको तीनबुँदे सहमतिलाई लिएर अहिल्यै पार्टी एकता भइहाल्छ भन्ने भ्रममा नपर्न आग्रह गरे।

त्यस्तै, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेसहितको बृहत् वामपन्थी एकताका लागि पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। उनले वामपन्थीहरूबीच सहकार्य, एकता र ध्रुवीकरणको पक्षमा सकारात्मक सहजीकरण गर्न सबै पक्षलाई आग्रह गरे।

बैठकमा बागमती प्रदेश संयोजक सरलसहयात्री पौडेलले पार्टी संगठनको वस्तुगत अवस्थाबारे रिपोर्टिङ गरेका थिए। विभिन्न वामपन्थी घटकबिचको एकतापछि संगठन भद्दा र भद्रगोल देखिएकाले आगामी अधिवेशनबाट सानो र चुस्त संगठन निर्माण गरेर जानुपर्ने सुझाव उनले दिएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय