काठमाडौं । सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका छन् ।
बुधबार धनगढीमा आयोजित कार्यक्रममा शाहले देउवालाई एक्कासि प्रदेश सभा सदस्यबाट हटाउने निर्णयको नियतमाथि प्रश्न उठाएका हुन् ।
‘हाम्रो एउटा कुरामा गम्भीर ध्यानाकर्षण भएको छ, माननीय प्रकाश देउवालाई एक्कासी बर्खास्त गर्ने जुन निर्णय सभामुखले गर्नुभयो, यसका पछाडिको नियत के हो ?’ शाहले प्रश्न गरे, ‘यो सम्बन्धित पक्षले स्पष्ट पार्न जरुरी हुन्छ ।’
शाहले कांग्रेस संवैधानिक र कानुनी बाटोमा खुला छलफल गर्न तयार रहेको भन्दै कुनै पनि प्रदेश सभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण लिनुपर्ने बताए ।
शाहले यसअघि प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएको घटनामा सर्वोच्च अदालतले ‘स्टे अर्डर’ दिएको प्रसंगसमेत स्मरण गरे । ‘यसअघि पनि यस्तै किसिमका घटनाहरू भएका छन् । सीमित उद्देश्य पूर्तिका लागि माननीय इन्दिरा गिरीजीलाई प्रदेश सभा सदस्यबाट हटाइयो, सर्वोच्चबाट त्यसको स्टे आएको छ,’ उनले भने ।






