काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई समर्थन गर्दा आफू राष्ट्रपति बन्न खोजेको भन्ने टिप्पणीप्रति असन्तुष्टि जनाएका छन् ।
गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको स्पष्ट पारे । उनले अहिलेको व्यवस्थामा राष्ट्रपतिको भूमिका ‘खोपीको देउता’ जस्तो रहेको टिप्पणी गरे ।
‘राजनीतिमा नयाँ पुस्ताको कुरा गर्दा र समर्थन गर्दा बाबुराम फेरि नयाँतिर लाग्यो, राष्ट्रपति हुन खोजेको हो भन्ने कुरा गर्छन्,’ उनले भने, ‘अहिलेको प्रणालीमा राष्ट्रपति त खोपीको देउताजस्तो हो ।’
भट्टराईले आफूलाई राष्ट्रपतिको पदप्रति कुनै लोभ नभएको बताए । आफू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको भन्दै उनले विगतमा कार्यकारी प्रधानमन्त्री भइसकेको व्यक्तिले राष्ट्रपतिको पदमा लोभ गर्नुपर्ने कारण नरहेको जिकिर गरे ।
‘म त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने पक्षको मानिस हुँ । राष्ट्रपतिमा लोभ गर्ने कुरा पनि होइन,’ उनले भने, ‘कार्यकारी प्रधानमन्त्री भइसकेको मान्छेले राष्ट्रपतिमा लोभ गर्ने कुरा हुँदैन ।’
उनले आफूले पदका लागि नभई राजनीतिक विचारका आधारमा धारणा राख्ने गरेको बताए । आफ्नो विचारअनुसार राजनीतिक बहस अघि बढाउँदा त्यसलाई पदको आकांक्षासँग जोड्न नहुने उनको भनाइ छ ।
‘मैले त विचार दिने हो । मैले विचार दिएका आधारमा पद खोज्यो भन्छन्,’ भट्टराईले भने, ‘यसबाट माथि उठ्नुपर्यो । कुनै पनि विषयमा विचार दिँदैमा त्यसबारे पद खोजेको हुँदैन भन्ने बुझ्नुपर्छ ।’






