काठमाडौँ । पूर्वप्रधान न्यायाधीशलाई जेनजी युवाहरूबाट धम्की आएको भन्दै प्रहरीले गरेको दाबीबारे जेनजी अगुवा मिराज ढुङ्गानाले गृह मन्त्रालयसँग स्पष्टीकरण मागेका छन् । मिराज ढुङ्गानाले गृह मन्त्रालय र मन्त्रालयका जिम्मेवार अधिकारीहरूलाई इमेल गरेर एक पत्र पठाउँदै त्यसबारे स्पष्ट पार्न आग्रह गरेका हुन् । उनले विषयको वास्तविकता, स्रोत र कानुनी प्रक्रियाबारे थप तथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।
पत्रमा ‘जेनजी’ कुनै व्यक्ति, ग्याङ वा गिरोह नभई एउटा निश्चित उमेर समूह मात्र भएको स्पष्ट पारिएको छ । ‘देशमा ७२ लाख जेनजी उमेर समूहका व्यक्ति छन्, यो समूह हरेक पार्टी, अभियान र १० कक्षादेखि मास्टर डिग्रीसम्म अध्ययनरत छन्’ पत्रमा भनिएको छ, ‘जेनजी भनेर दोषारोपण गर्दा सम्पूर्ण ७२ लाख नागरिक र नाबालिकलाई आरोप लगाएको हुन्छ, त्यसैले यो स्पष्ट गरिनुपर्छ ।’ ढुङ्गानाले गृह मन्त्रालयसमक्ष मुख्य ६ वटा विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन् । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई वास्तवमै धम्की आएको हो वा होइन, आधिकारिक स्रोत र प्रकृति, धम्की जेनजीबाटै आएको भनेर पहिचान गर्ने आधार र प्रहरीले गरेको अनुसन्धान निष्कर्षबारे स्पष्ट पार्नुपर्ने ढुङ्गानाले मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ ।
त्यस्तै, उनले धम्की दिने कुनै व्यक्ति वा समूहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएको कानुनी आधार र सम्पूर्ण ‘जेनजी’ पुस्तालाई नै शङ्काको घेरामा पार्ने अवस्थाबारे मन्त्रालयको दृष्टिकोणबारे स्पष्ट पार्न भनेका छन् ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई कानुनको शासन र व्यक्तिगत स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै पत्रमा भनिएको छ, ‘कुनै पनि घटनाको अनुसन्धान र आधिकारिक निष्कर्षबिना त्यसलाई कुनै पुस्ता वा समुदायसँग जोड्नुले अनावश्यक भ्रम र अविश्वास सिर्जना गर्छ ।’
नागरिकमा रहेको अन्योल र जिज्ञासा अन्त्य गर्न यथाशीघ्र तथ्यमा आधारित रहेर राज्यका सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक गर्न ढुङ्गानाले गृहमन्त्रीसँग अनुरोध गरेका छन् ।









