विराटनगरमा नेपाली नागरिकका नाममा फर्म दर्ता गरेर विदेशी नागरिकले व्यापार सञ्चालन गरेको अर्को घटना सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका–२ डीएसपी रोडस्थित ‘१६० सप’ नामक पसलमा सोमबार गरिएकोअनुगमनका क्रममा यस्तो भेटिएपछि सरकारी निकायले व्यवसायको कानुनी आधारमाथि अनुसन्धान अघि बढाएका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा पसलको दर्ता कागजात काठमाडौं महानगरपालिका–३२, जडीबुटी निवासी राधिका बस्नेत कार्कीको नाममा रहेको भेटिएको थियो। पसलमा भने चिनियाँ नागरिक लि जोसिज्याकले व्यापार सञ्चालन गरिरहेको पाइएको हो।
पसल बाहिर ‘१६० सप’ नाम प्रयोग गरिएको भए पनि सरकारी कागजातमा भने ‘एभरपिक सप्लायर्स’का नाममा फर्म दर्ता रहेको देखिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दिपेशकुमार झाले बताए। उनका अनुसार पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्री कहाँबाट खरिद गरिएको हो, कारोबार कसरी भइरहेको छ र चिनियाँ नागरिकले व्यवसाय सञ्चालन गर्ने कानुनी आधार के हो ? भन्ने विषयमा आवश्यक कागजात माग गरिएको छ।
अनुगमन टोलीले पसल सञ्चालकलाई सामान खरिदका बिलसहित व्यवसायसँग सम्बन्धित कागजात उपलब्ध गराउन निर्देशन दिएको छ। फर्मको दर्ता विवरण, आन्तरिक राजस्व कार्यालयमा देखाइएको कारोबार र वास्तविक रूपमा भइरहेको व्यवसायबीच मेल छ कि छैन भन्ने विषयसमेत अध्ययन भइरहेको झाले बताए। पसल सञ्चालनमा संलग्न चिनियाँ नागरिक लि जोसिज्याकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
विराटनगरमा नेपाली नागरिकको नाममा फर्म दर्ता गरेर चिनियाँ नागरिकले व्यापार सञ्चालन गरेको भेटिएको यो दोस्रो घटना हो। यसअघि विराटनगरस्थित सेन्ट्रल मलमा सञ्चालनमा रहेको ‘योनो मार्ट’ पनि नेपाली नागरिकको नाममा दर्ता रहेको तर चिनियाँ नागरिकले सञ्चालन गरेको पाइएको थियो।
‘योनो मार्ट’ सञ्चालन गरिरहेका चिनियाँ नागरिक सीए जिङलानलाई गत असोज ८ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले नेपालमा लगानी गर्ने उद्देश्यले उद्योग विभागबाट बिजनेस भिसाका लागि सिफारिस लिएको खुलेको थियो। तर, भिसासँग सम्बन्धित काम नगरी पसल सञ्चालन गरिरहेको पाइएको थियो। अनुगमनका क्रममा सीए जिङलानको साथमा सक्कल राहदानीसमेत फेला नपरेपछि उनलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको थियो।
पछिल्लो घटनासँगै नेपाली नागरिकका नाममा दर्ता भएका फर्मबाट विदेशी नागरिकले प्रत्यक्ष रूपमा व्यापार सञ्चालन गरिरहेको हुन सक्ने विषयमा सरकारी निकायको चासो बढेको छ। व्यक्तिगत फर्म दर्ता गर्दा समुद्रपार आयात–निर्यात तथा स्थानीय व्यापारलाई उद्देश्यका रूपमा उल्लेख गरिए पनि वास्तविक लगानीकर्ता र व्यवसाय सञ्चालन गर्ने व्यक्ति को हुन् भन्ने विषयमा प्रश्न उठ्न थालेको छ।
सम्बन्धित निकायले ‘१६० सप’को फर्म दर्ता, राजस्व विवरण, महानगरपालिकामा गरिएको व्यवसाय दर्ता, सामान आयात तथा खरिदसँग सम्बन्धित कागजात अध्ययन गरिरहेको जनाएको छ। यसै क्रममा विराटनगरमा नेपाली नागरिकका नाममा दर्ता भएका अन्य व्यवसायमा समेत विदेशी नागरिकको प्रत्यक्ष संलग्नता छ कि छैन भन्ने बारेमा निगरानी बढाइएको प्रशासनले जनाएको छ । अनुगमनबाट प्राप्त कागजात र अनुसन्धानको निष्कर्षपछि ‘१६० सप’मा भइरहेको कारोबारको वास्तविक प्रकृति तथा व्यवसाय सञ्चालनको कानुनी अवस्थाका बारेमा स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।








