काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भारतबाट प्रधानमन्त्री बालेनलाई औपचारिक निम्तो आइसकेको बताएका हुन्।
‘हामीले भनिरहेका छौं, हाम्रो सरकार बन्नासाथ प्रधानमन्त्रीज्यूलाई भारतबाट निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं । उपयुक्त अवसर हुँदाखेरी एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ। तर कहिले भन्ने तय छैन। हामी पनि अपेक्षा गर्दैछौं। भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ।’
परराष्ट्रमन्त्री खनालले महासभाले नेपालको कूटनीतिक छविलाई उच्च बनाउने काम गरेको र नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको स्पष्ट पारेका हुन्। उनले भने,‘संयुक्त राष्ट्रसंघ महासभाको ८१ औं सत्रको क्रममा प्रधानमन्त्री वालेन्द्र शाहज्यूले महासभामा गर्नुभएको सम्बोधन र मैले विभिन्न बहुपक्षीय बैठकमा गरेको सहभागिता र छलफलबाट एकातर्फ नेपालको कूटनीतिक छवि उच्च भएको छ भने अर्कोतर्फ नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको मैले पाएको छु।’








