काठमाडौं । जनकपुरधामस्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा समावेश गराउन औपचारिक प्रक्रिया थालिएको छ ।

नेपाल सरकारले मन्दिर क्षेत्रलाई ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गरेलगत्तै यसको विश्वव्यापी मान्यता र संरक्षणका लागि सरोकारवालाहरूले पहलकदमी शुरु गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहको संयोजकत्वमा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि एक विशेष समिति गठन गरिएको छ । उक्त समितिले मन्दिरको धार्मिक, सांस्कृतिक तथा वास्तुकलागत महत्व झल्काउने विस्तृत प्रतिवेदन तयार पार्ने जिम्मा पाएको छ ।

प्रारम्भिक मस्यौदा तयार भइसकेको र अब स्थानीय समाजका अगुवा तथा विज्ञहरूसँग आवश्यक सुझाव लिई प्रतिवेदनलाई अन्तिम रूप दिइने नगरप्रमुख साहले जानकारी दिए ।

यस प्रक्रियालाई थप व्यवस्थित बनाउन पुरातत्वविद्हरूको सहयोगमा मन्दिरको चारकिल्लाभित्र पर्ने ऐतिहासिक संरचना र तालतलैयाहरूको विस्तृत सर्वेक्षण गरिने भएको छ ।

पुरातत्व विज्ञ रामबाबु दाहालकाअनुसार नेपाल सरकारको मन्त्रिपरिषद्बाट गत भदौ १३ गते भएको ‘संरक्षित स्मारक क्षेत्र’ घोषणाको निर्णयलाई कार्यान्वयनमा लैजान सरोकारवाला निकायहरूसँग समन्वय अघि बढाइएको छ ।

सरोकारवालाहरूबीच भएको पछिल्लो छलफलमा मन्दिरको ऐतिहासिकताको व्यवस्थित अभिलेखीकरणमा विशेष जोड दिइएको छ ।

भविष्यमा गरिने कुनैपनि निर्माण वा भौतिक विकास कार्यले मन्दिरको प्राचीन स्वरूप र वास्तुकलामा नकारात्मक असर नपर्ने गरी नीति बनाउनुपर्नेमा सहभागीहरूले एकमत जाहेर गरेका छन् ।

ऐतिहासिक धरोहरको संरक्षण गर्दै यसलाई विश्व मञ्चमा चिनाउनु नै यस अभियानको मुख्य लक्ष्य रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय