काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो ।
केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए ।
‘दसैंका बेला नयाँ तथा खुद्रा नोट सटही सुविधा उपलब्ध हुने मिति तोक्ने अभ्यास हटाएका छौं,’ दाहालले भने, ‘यसपालिदेखि केन्द्रीय बैंकको नियमित काम अन्तर्गत नै नयाँ तथा खुद्रा नोट सटही सेवा उपलब्ध हुन्छ ।’
केन्द्रीय बैंकले दसैं पर्व मनाउने जनसंख्या धेरै भएकाले नोटको माग धेरै हुने हुँदा दसैंमा नयाँ नोट बजार पठाउने गरेको उनले बताए । तर, यसपालि देशमा कुनै जात र धर्म अनुसार चाडपर्व लक्षितभन्दा पनि बजार माग अनुसार सेवा नियमित उपलब्ध गर्ने केन्द्रीय बैंकको योजना रहेको उनको भनाइ छ ।
‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, माग अनुसार सटही सुविधा हामी दिन्छौं,’ दाहालले भने, ‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं, त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’
नोट सटही सेवा केन्द्रीय बैंकको नियमित काम भएकाले पनि यसलाई कुनै पर्व वा अवसरमा वितरण नगरी बजार आवश्यकता अनुसार दिने अभ्यास सुरु गरेको उनले बताए ।
राष्ट्र बैंकको बैंकिङ काउन्टरमा कार्यालय समयमा सेवा उपलब्ध हुँदै आएको दाहालले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण गरिरहेको उनले बताए ।
यसपालि प्राकृतिक विपत्तिका कारण धेरै सर्वसाधारणका लागि दसैं उत्सवका रूपमा नभएकाले पनि विगतको जस्तो सूचना नै जारी गरेर नयाँ नोट वितरण नगर्ने भएको दाहालले बताए ।
दाहालका अनुसार अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन् । एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।
व्यक्तिगत प्रयोजनका लागि हो भने नयाँ नोट नपाइने र व्यापारिक प्रयोजनका लागि नयाँ र सुकिला गरेर नोट सटही सुविधा केन्द्रीय बैंकले प्रदान गर्दै आएको दाहालले बताए ।








