झण्डै तीन किलो अवैध लागूऔषध अफिमसहित प्रहरीले बाराको सिमराबाट एक दम्पतीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जको संयुक्त टोलीले उनीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा पैदल हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी राई रहेकी छिन् । उनीहरुको साथबाट दुई किलो ९७० ग्राम अफिम बरामद भएको प्रहरीको भनाइ छ । लागूऔषध अफिम ओसारपसार भइरहेको सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक शेखर सिवाकोटी र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी हवल्दार उमेश यादवको नेतृत्वमा प्रहरी खटिएको थियो ।
सिमरा चोकमा पैदल हिडिरहेका उनीहरुले बोकेको झोला जाँच गर्दा लागूऔषध अफिम फेला परेपछि नियन्त्रणमा लिइएको लागू लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर कारवाही प्रक्रिया अघि बढाइएको छ ।








