काठमाडौं : युवाहरूलाई व्यावहारिक सीप प्रदान गर्दै स्वदेशमै रोजगारीका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा असोज १४ गतेदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले देशका प्रतिभाहरूलाई अवसरसँग जोडेर स्वदेशमै आत्मसम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘प्रतिभा सर्वत्र हुन्छ, तर अवसरहरू सीमित हुन्छन्’मन्त्री यादवले भने, ‘अब यो अवस्थालाई बदलेर हाम्रा युवाका लागि स्वदेशमै सम्भावना र रोजगारका ढोकाहरू खोल्नुपर्छ।’चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषित ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ लाई व्यवहारमा उतार्न युवा, श्रम तथा रोजगार मन्त्रालयले यो मेला आयोजना गरेको हो। आगामी असोज २० गतेसम्म सञ्चालन हुने यस मेलाको मुख्य लक्ष्य युवाको सीप पहिचान गरी उहाँहरूलाई रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष रूपमा जोड्नु रहेको छ।
सम्बोधनका क्रममा मन्त्री यादवले विशेष गरी शिक्षा, रोजगारी वा कुनै पनि तालिममा नजोडिएका युवाहरूको संख्या घटाउनु सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट पारे। केवल प्रमाणपत्र वा औपचारिकताका लागि मात्र नभई तालिम र सिकाइलाई प्रत्यक्ष रूपमा रोजगारी, स्वरोजगार र उत्पादनसँग जोड्नुपर्नेमा उनको जोड थियो।
मेला अवधिभर युवाहरूलाई उद्यमशीलताप्रति आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफलसमेत सञ्चालन गरिनेछ। यसका साथै सहभागीहरूको छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप परीक्षण तथा अभिलेखीकरण (सीप प्रोफाइलिङ), रोजगारदाता र तालिम प्रदायक संस्थाको परिचयात्मक कार्यक्रमका साथै एकीकृत सूचना तथा परामर्श सेवाहरू प्रवाह भइरहेका छन्।
चालू आर्थिक वर्षमा कोशी प्रदेशको इटहरीबाट प्रारम्भ गरिएको यो मेलालाई सरकारले क्रमशः देशका अन्य सबै प्रदेशहरूमा विस्तार गर्दै लैजाने मन्त्रालयले जनाएको छ।








