काठमाडौं : २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ।
बुधबार दिउसो स्वदेश फर्किएको नेपाली महिला कबड्डी टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अंकले पराजित भएपछि नेपालले कास्य पदक प्राप्त गरेको थियो। स्वदेश फर्किएपछि नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले मुख्य सपना फाइनल खेल्ने भए पनि सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा परेकाले निकै चुनौतीपूर्ण भएको बताइन्।
एसियाली स्तरको ठूलो मञ्चमा आफ्नो पदकलाई कायमै राख्न सफल हुनु ठूलो उपलब्धि रहेको उनको भनाइ छ। उनले रणनीति सोचेजस्तो पूर्णरूपमा सफल हुन नसके पनि प्राप्त कास्य पदकमै टोली सन्तुष्ट र खुसी रहेको उल्लेख गरिन्। आफ्नै कभर्ड हल र कबड्डी ग्राउन्ड नहुने समस्या पहिलेदेखि रहेपनि प्रतियोगिता सुरु हुनुभन्दा ६ महिनाअघिदेखि खेलाडीहरूले ती अभावलाई बिर्सिएर केवल खेल, पदक र देशको झण्डा फर्फराउने कुरामा मात्र ध्यान केन्द्रित गरेको उनको भनाइ छ। नेपालले समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो।








