काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक शनिबार पार्टी मुख्यालय च्यासलमा पुनः सुरु भएको छ। बिहीबारदेखि जारी बैठकको आज तेस्रो दिन हो।
शुक्रबारको बैठकमा पार्टीका विभिन्न कमिटी तथा सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।
एमालेले स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी तथा विभिन्न विभागलगायत संरचनालाई पूर्णता दिन बाँकी छ। ती संरचनामा सदस्य मनोनयन गर्ने विषय बैठकको प्रमुख एजेन्डा बनेको छ।
शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीलगायतमा मनोनयन गरिने सदस्यका थप नाम प्रस्ताव गरेका थिए। तर प्रस्तावित नामप्रति केही नेताले असन्तुष्टि जनाएपछि सहमति जुट्न नसकेको एक स्थायी कमिटी सदस्यले बताएका छन्।
प्रस्तावित नाममा सहमति कायम हुन नसकेपछि थप छलफल गरेर निर्णयमा पुग्ने भन्दै शुक्रबारको बैठक स्थगित गरिएको थियो।
अध्यक्ष ओलीले प्रस्ताव गरेका नाममा सहमति जुटाउन शनिबार पुनः छलफल भइरहेको छ। बैठकले पार्टीका विभिन्न कमिटीलाई पूर्णता दिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।








