काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चालाई निराधार बताएका छन् । उनले पार्टीको शीर्ष नेतृत्वबीच कुनै मनमुटाव नरहेको स्पष्ट पारेका हुन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पछिल्लो समय आफू र महासचिव पोखरेलबीच असमझदारी बढेको तथा संवादसमेत टुटेको भन्ने चर्चामा सत्यता नरहेको दाबी गरे ।
महासचिव पोखरेलले आफ्नो फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले फोन नउठाएको भन्ने कुरालाई मात्र आधार बनाएर सम्बन्धमा समस्या रहेको निष्कर्ष निकाल्न नमिल्ने बताए ।
‘उहाँसँग मेरो कुनै मनमुटाव छैन,’ ओलीले भने ।
पछिल्ला दिनमा एमालेभित्र अध्यक्ष ओली र महासचिव पोखरेलबीच सम्बन्ध चिसिएको भन्दै विभिन्न अड्कलबाजी भइरहेका बेला ओलीको यस्तो प्रतिक्रिया आएको हो ।
अध्यक्ष ओलीले पार्टी सञ्चालन तथा नीतिगत विषयमा शीर्ष नेतृत्वबीच समन्वय र संवाद कायम रहेको उल्लेख गर्दै व्यक्तिगत सम्बन्धलाई अनावश्यक विवादको विषय बनाउन नहुने धारणा व्यक्त गरे ।








