काठमाडौं । नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकास मन्त्रालयद्वारा गठित ‘पुल/बेलीब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदल’का संयोजक एवं नेपाली सेनाका पूर्वउपरथी धर्मेन्द्र झाले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
झाका अनुसार निर्माणमा खटिएको टोलीले दिनरात काम गरिरहेको छ । उनले बेत्रावतीको बेलीब्रिज भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउने बताए ।
पुल सञ्चालनमा आएपछि लामो समयदेखि अवरुद्ध यातायात सेवा पुनः सञ्चालन हुने र स्थानीयवासीले भोग्दै आएको सास्ती कम हुने अपेक्षा गरिएको छ ।
स्याफ्रुबेसीमा पनि निर्माण तीव्र
बेत्रावतीसँगै स्याफ्रुबेसीमा बेलीब्रिज निर्माणको काम पनि अघि बढिरहेको कार्यदलले जनाएको छ । भौगोलिक प्रतिकूलता र केही प्राविधिक समस्याका कारण निर्माणमा ढिलाइ भए पनि अहिले कामले गति लिएको पूर्वउपरथी झाले बताए ।
उनका अनुसार देखिएका प्राविधिक तथा भौगोलिक समस्या समाधान गर्दै स्याफ्रुबेसीको बेलीब्रिज निर्माण पनि छिट्टै सम्पन्न गर्ने प्रयास भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा काम जारी
कार्यदलका संयोजक झाले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले निरन्तर काम गरिरहेको जानकारी दिए । निर्माणका क्रममा केही स्थानमा समस्या देखिए पनि तिनको समाधानका लागि टोली सक्रिय रहेको उनको भनाइ छ ।
उनले निर्माणको प्रगति र प्राविधिक अवस्थाबारे विस्तृत विवरण संकलन भइरहेको जनाउँदै त्यससम्बन्धी प्रतिवेदन सार्वजनिक गरिने बताए ।








