सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका–१ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा बस्दै आएका ३७ वर्षीय विवेक थापा रहेका छन् ।

प्रहरीका अनुसार घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रा गरिरहेका थापा दम्पतीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका थापालाई प्रारम्भिक उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको थियो । थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा गएराति ९ः५० बजे बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा थापाकी २९ वर्षीया श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरेन्द्रनगर–१० निवासी २२ वर्षीय दीपेश चौधरी पनि घाइते भएका छन् । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालक चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

क्षतिपूर्ति र कारबाहीको माग गर्दै सडक अवरुद्ध

थापाको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले उचित क्षतिपूर्ति र घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै वीरेन्द्रनगरको एयरपोर्ट चोकमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेपछि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । स्थिति सामान्य बनाउन प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय