काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्ट भएर टाढिएका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पुनः कांग्रेसमा फर्काउने बताएका छन्।
शनिबार पार्टीको १५औँ महाधिवेशनबाट सभापति निर्वाचित भएपछि केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै थापाले कांग्रेसप्रति लामो समयदेखि विश्वास र सद्भाव राख्दै आएका तर पछिल्ला वर्षमा पार्टीका गतिविधिप्रति असन्तुष्टि जनाएर टाढिएका व्यक्तिलाई पुनः जोड्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले पार्टीका नेता तथा कार्यकर्तासँगै कांग्रेसलाई माया गर्ने लाखौँ समर्थक र शुभेच्छुकलाई पनि पार्टीसँग पुनः जोड्न पहल गर्ने बताए।
‘वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो, तर केही वर्षअघिदेखि हामीले गरेका काम चित्त नबुझाएर हामीलाई छाडेर जानुभएको छ। ती साथीहरूलाई हामी फर्काउँछौँ,’ थापाले भने।
असन्तुष्ट बनेर टाढिएका व्यक्तिलाई कांग्रेसको कार्यालय, परिवार र संगठनप्रति पुनः आकर्षित गर्ने वातावरण बनाउने उनको भनाइ छ।
थापाले पार्टीलाई अघि बढाउन काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको पनि बताए। पहिलो चरणमा पार्टीभित्रै रहेका नेता तथा कार्यकर्ताको भरोसा अझ बलियो बनाउने र त्यसपछि असन्तुष्ट बनेर टाढिएका व्यक्तिलाई पुनः जोड्ने संकल्पसहित आफूले यात्रा सुरु गरेको उनले उल्लेख गरे।
उनको सम्बोधनमा पार्टीभित्रको विश्वास पुनःस्थापना, संगठनलाई बलियो बनाउने र टाढिएका समर्थकलाई पुनः जोड्ने विषय प्राथमिकतामा देखिएको छ।








